नारायणहिटी छाडेर नागार्जुन जंगलमा सर्ने दिन आयो , मलाई ज्यादै सकस भइरहेको थियो – कटवाल


गणतन्त्र घोषणाको दिन । अन्तरिम संविधानमा संविधानसभाको पहिलो बैठकबाट राजतन्त्र अन्त्य हुने प्रावधान पहिल्यै राखिएको थियो । माओवादीले नानाथरि उत्ताउला र उग्र कुरा ल्याइरहेका थिए । कुलबहादुर पनि मलाई सुनाइरहन्थे- माओवादीले दरबारमै छिरेर राजालाई घोक्रयाउँछन्, हजुरलाई गाह्रो पर्ने भयो ।

माओवादीले गणतन्त्रको नाममा २०६५ जेठ १५ गते दरबारभित्रै पसेर परेड खेल्ने दाउ गरेको थियो । ‘दरबारमा माओवादी मार्चपास, म कुनै हालतमा हेर्न सक्दिनँ,’ मैले आदेश दिएँ, ‘कोही जबर्जस्ती नारायणहिटीको गेटबाट पस्न खोज्यो वा पर्खाल चढ्यो भने ..

संविधानसभाले गणतन्त्रको औपचारिक घोषणा गरेपछि सभामुख सुवासचन्द्र नेम्वाङसहितको टोली नारायणहिटी आएर समारोह गर्ने कार्यक्रम बनेको थियो । दुई/चार दिनदेखि केही माओवादी कार्यकर्ता निकै उत्ताउला बनिरहेका थिए । अरू पार्टीका अपरिपक्व नेता-कार्यकर्ता पनि धेरै चुमुकचुमुक भइरहेका थिए ।

बिएकुमार (कानुन हेर्ने जर्नेल) लाई सभामुखसँग भेट्न पठाएँ । सहपाठी नेम्वाङसँग प्रस्ट कुरा राख्न सजिलो हुने ठानेर बिएलाई पठाएको थिएँ । डयुटी लिएको ठाउँमा नेपाली सेनाका सिपाही राइफल फालेर भाग्दैन भन्ने सन्देश मैले माओवादीकहाँ पनि पुर्‍याएँ । तैपनि माओवादी विद्यार्थी, मजदुर, युवा लगायतका संगठन ‘दरबारभित्र पस्ने, ज्ञानेन्द्रलाई घोक्रेठ्याक लगाउने’ भनिरहेका थिए । उनीहरूजत्तिकै क्रान्तिकारी देखिन कांग्रेस, एमालेका केही युवा पनि यस्तै लहैलहैमा लागेका थिए ।

विभिन्न स्रोतबाट पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, नीलाम्बर आचार्य लगायतलाई सन्देश पठाएँ । ‘संसदले गरेको वैधानिक निर्णय सेनापति र सेनाले शिरोपर गर्छ,’ मैले उहाँहरूलाई भनेँ, ‘माओवादीको हुल अराजक भएर नारायणहिटी आयो भने सिपाहीले आˆनो डयुटी गर्छ, टुलुटुलु हेरेर बस्दैन ।’ मैले गिरिजाबाबुलाई पनि यो अवस्थाको जानकारी गराएँ । हामीले जेठ १४ देखि नै दरबार वरिपरि क्यामरा, बख्तरबन्द गाडी लगायत सुरक्षा उपकरण तैनाथ गर्‍यौं ।

राजा ज्ञानेन्द्रले नारायणहिटी छाडेर नागार्जुन जंगलमा सर्ने दिन आयो । मलाई व्यक्तिगत रूपमा ज्यादै सकस भइरहेको थियो । आफैंले गाडी हाकेर राजा-रानी बिदा भए । गाडीबाट हात हल्लाउँदै हाँसी-हाँसी गए । राजगद्दी त्याग्नुपर्दा राजा अलिकति पनि हतासिएको देखिएन । शाह वंशको इतिहास मेटियो, नेपालको इतिहास फेरियो । राजाको मुहारमा कुनै दुःख, पीडा, वियोग, बैराग झल्केन ।

राजाको आत्मविश्वास देखेर म कायल भएँ । नागार्जुन दरबार पठाउनु पनि राज्यका तर्फबाट पूर्वराजालाई सम्मान हो । त्यसका लागि ठूलै लडाइँ लड्नुपरेको थियो । गणतन्त्र कार्यान्वयनमा काम गरिरहेको गृह मन्त्रालयको दाउ राजा-रानीलाई निर्मल निवास पठाउने थियो ।

प्रधानमन्त्रीलाई मैले भेटेरै भनेको थिएँ, ‘निर्मल निवास कुनै हालतमा हुँदैन ।’ यस विषयमा प्रधानमन्त्रीसँग मेरो निकै गर्मागर्मी भयो । लामो विवादपछि पूर्वराजाको हैसियतले नागार्जुन उपलब्ध गराउन सरकार राजी भएको हो । नारायणहिटी दरबारबाट मुमा बडामहारानी रत्न र त्रिभुवनकी भित्रिनी सरलादेवी मानन्धरलाई पनि निकाल्ने निर्णय भएको थियो । रत्न सरकार ‘महेन्द्र मञ्जिल’ मा बस्नुहुन्थ्यो । सरलादेवीको अलग्गै निवास छ भन्ने थाहा थियो । दुवै असी नाघिसकेका । पूर्वरानी भन्ने बिर्सिए पनि दुवै वरिष्ठ नागरिक । एडिसीबाट मैले पाएको जानकारीअनुसार मुमा बडामहारानी सरकारको ‘महेन्द्र मञ्जिल’ सँग भावनात्मक सम्बन्ध थियो । महेन्द्रसँगको सम्झना त्यो दरबारसँग जोडिएको रहेछ ।

विश्वेश्वरप्रसाद कोइरालाले नै लेख्नुभएको छ- त्रिभुवनको इच्छाविपरीत युवराजाधिराज महेन्द्रले रत्नलाई बिहे गरे । त्यसपछि नै ‘महेन्द्र मञ्जिल’ बनेको हो । मैले सुनेअनुसार दरबार परिसरमै भए पनि सबै खर्च रत्नका बुवा हरिशमशेरले बेहोरेका हुन् । एकथरी गणतन्त्रवादी बल प्रयोग गरेरै पनि दुबैलाई निकाल्ने पक्षमा थिए । यस्तो ‘अति’ गर्ने प्रवृत्ति नेता, मन्त्रीभन्दा कर्मचारीमा देखिँदोरहेेछ । त्यही कारण भारतमा ब्युरोक्रेसीको उल्था गर्दा ‘नोकरशाही’ भनिएको होला ! दुबै वृद्वालाई ननिकाले गणतन्त्र अधुरो हुन्छ भनेर उत्ताउलो हुनेमा मुख्यसचिव, केही सचिव रहेको सुनेँ ।

(पूर्वप्रधानसेनापति कटवालको प्रकाशोन्मुख आत्मकथाबाट)