रेडियो अन्नपूर्णको बृहत रक्तदान कार्यक्रममा २ सय ६३ युनिट रगत संकलन


पोखरा – रेडियो अन्नपूर्णले शनिबार गरेको बृहत रक्तदान कार्यक्रममा २ सय ६३ युनिट रगत संकलन भएको छ ।

‘रक्तदान ! यसपालि म छुटाउँदिन’ भन्ने मूलनाराका साथ आयोजना गरिएको कार्यक्रमको शुभारम्भ रेडियोका संस्थापक अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले गरेका थिए । रक्तदानमा कला साहित्य, खेलकुद, राजनीतिक दल, आमा समूह, टोल विकास संस्था, क्लब, कलेज, सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, लगायत विभिन्न संघ संस्थाको ंसाथै पत्रकार, कलाकार, ट्याक्सी चालक, अधिकारकर्मी, खेलाडी, दृष्टिविहीन, कालीगढ, व्यवसायी, कर्मचारी, विद्यार्थी लगायतले रक्तदान गरेका थिए ।

युवा पुस्तालाई रक्तदान गर्नुपर्दछ भन्ने भावनाको विकास र नयाँ रक्तदाताको खोजी अभियानमा सघाउन रेडियोले प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले बताए । उनले रेडियोले चैत महिनामा ब्लड बैंैकमा रगतको अभाव हुने हुँदा यसै समयमा रगत गर्नुपर्छ भने मान्यतालाई स्थापित गर्न उक्त अभियान सुरु गरेको बताए । रक्तदान कार्यक्रममा यस वर्षपनि नयाँ रक्तदाताको उत्साहजनक सहभागिता रहेको रेडियोले बताएको छ ।

रेडियोको १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित १७ औं संस्करणको रक्तदानमा ६० प्रतिशत नयाँ रक्तदाताले रक्तदान गरेको कार्यक्रम संयोजक सरीता पहारीले जानकारी दिइन् । पहारीका अनुसार रक्तदानमा ९७ जना नयाँ रक्तदाता, ३३ जना महिला र २ सय ३० जना पुुरुषले रक्तदान गरेका छन् । पोखरा १६ स्थित अर्मलाका न्यून दृष्टिविहीन नवीन भट्टराईले पनि ८ आंैं पटक रेडियोमा रक्तदान गरे । नेपाल स्वयम सेवी रंक्तदाता समाज कास्कीका अध्यक्ष तीर्थराज अवस्थीले ५३ औं पटक रक्तदान गरे ।कार्यक्रममा बोल्दै अध्यक्ष पालिखेले रेडियोले थालेको अभियान निरन्तर जारी राख्ने बताए । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश नम्बर ४ का अध्यक्ष गोविन्दराज पहारीले सुरुमा रक्तदान गरेका हुन । निम्स पोखराका अध्यक्ष केशवराज ढकालले रेडियोसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । रेडियोका समाचार संयोजक आरजु विष्ट सल्यानीले रेडियोले रक्तदान कार्यक्रमको अभियान सुरु गर्दा १०÷१५ वटा पनि संस्थाहरुले नगरेको अवस्थाबाट अहिले ३ सय भन्दा बढी संस्थाले रक्तदान गर्ने गरेको बताए । रेडियोका प्रबन्ध निर्देशक सुनयना पालिखेले रेडियोको सामाजिक काममा स्रोता शुभेच्छुक, संघ, संस्थाहरुको अहिले जस्तै निरन्तर सहकार्य रहने विश्वास व्यक्त गरिन् । पालिखेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

रेडियो रक्तदान कार्यक्रममा विभिन्न संघ संस्थाहरुको संस्थागत सहभागिता रहेको थियो । मुक्तिनाथ बाहिनी, जिल्ला प्रहरी कार्यालय कास्की, सहारा क्लब, खेलाडी संघ कास्की, सामुदायिक प्रहरी सेवा केन्द्र बैदाम, कुरास किक बक्सिङ, क्लिन लेकसाइड पोखरा, धु्रवतारा बचत तथा ऋण सहकारी संस्था, क्रियाशील पत्रकार महिला समूह लगायतको सहभागिता रहेको थियो ।

 

क्षेत्रीय रक्त संचार केन्द्र पोखरा, नेपाल रेडक्रस सोसाइटी कास्की र फिस्टेल हस्पिटलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा लायन्स क्लब पोखरा स्टक, स्वर्णकार कल्याण समिति, कंगारु एजुकेसन फाउन्डेसन चिप्लेढुंगा, न्यु राष्ट्रियता छापाखाना भीमसेनटोल, फेवा मिट प्रोडक्ट प्रालि बिरौटा, भट्टराई पोल्ट्री प्रालि, तालबराही फार्मेसी, पेनगुइन मिनरल वाटर सहयोगी संस्थाको रुपमा रहेका थिए ।