२४, मार्च,स्पेन / लण्डनमा हुने युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिताको तयारी तिब्र गतिमा भईरहेको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले हरेक बर्ष आयोजना गर्दै आएको युरोपस्तरीय कार्यक्रमको तयारीमा तिब्रता दिईएको हो।
आगामी अप्रिल २१ र २२ तारिख लण्डनमा हुने कार्यक्रम ईनासको छैठौं यूरोप महादेशस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता एवं तेश्रो इनास यूरोप महादेशस्तरीय एकल नेपाली गायन प्रतियोगिता हो। साथै छैठौं यूरोप क्षेत्रीय बैठकको पनि आयोजना गरिएको ईनासले जनाएको छ।
युरोपभरबाट प्रतिभावान कलाकारहरुको जमघट
युरोपमा प्रतिभा प्रस्फुटनका लागि चर्चित बन्दै गएको ईनासको कार्यक्रममा कलाकारहरुले बिभिन्न देशहरुबाट सहभागिता जनाउने भएका छन्। स्विट्जरल्याण्ड, जर्मनी, स्पेन, लक्जेम्बर्ग, पोल्याण्ड, ईटाली, बेलायत, फिनल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स, पोर्चुगल, चेक रिपब्लिक जस्ता युरोपियन मुलुकहरुबाट नेपाली कलाकारहरुले भाग लिने भएका हुन्।
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) युके एबं ईनास युरोपको आयोजनामा सम्पन्न हुने कार्यक्रममा
नृत्य प्रतियोगितामा लोक (झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि लगायतका नेपालका सबै लोक नाचहरु तथा मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत लोक नाच तथा लोक भाकामा बनाइएका नेपाली चलचित्रका लोक गीतहरु ईत्यादि) र आधुनिक(नेपाली पप, आधुनिक, ज्याज, ब्रेक र रिमिक्स जस्ता आधुनिक गीतहरु) गरि दूई ओटा फरक विधाका गीतहरुमा नृत्य प्रस्तुत गर्नेछन।
प्रतियोगितामा बिजेता कलाकारलाई इनास युरोप महादेशको लागि एक वर्षे कार्यकाल रहने गरि इनासको अवैतनिक मानार्थ सदभावना दूत नियुक्त गरिनुका साथै “इनास युरोप नेपाली डानसिङ्ग स्टार र सिङ्गिङ स्टार २०१८” को उपाधि सहित ७ सय १ युरो नगद पुरस्कार ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ। त्यस्तै दुवै विधा तर्फको उपबिजेता र तेस्रो हुनेले क्रमसः ५ सय र ३ सय युरो सहित पुरस्कृत हुने भएका छन्। आयोजकका अनुसार प्रतियोगितामा १३ बर्षभन्दा माथि उमेर समूहकाले मात्र प्रतियोगितामा भाग लिने पाउनेछन्।
ईनासले बिजयी कलाकारहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रम, चलचित्र तथा म्युजिक भिडियोहरुमा नृत्य, गायन तथा अभिनयको लागि समेत अवसरहरु प्रदान गर्दै आएको छ। इनास युरोपका संयोजक अर्जुन काफ्ले तथा ईनास युकेका अध्यक्ष रजनी सुनुवारले कार्यक्रम सफल पार्न युरोपबासी नेपाली समुदायलाई अनुरोध गरेका छन्।
कार्यक्रमबारे पूर्ण बिबरण
मिति: २१ अप्रिल २०१८
कार्यक्रमको प्रकृति: छैठौ इनास युरोपियन क्षेत्रीय भेला (बैठक)
स्थान: Mulgrave Primary School & Early Years Centre
Rectory Place Woolwich London SE18 5DL
समय: दिनको ५:०० बजे ।
मिति: २२ अप्रिल २०१८
कार्यक्रमको प्रकृति: छैठौं इनास युरोप महादेश स्तरीय नृत्य र तेश्रो इनास युरोप महादेश स्तरीय गायन प्रतियोगिता सहित वृहत सांस्कृतिक कार्यक्रम।
स्थान: Asian Community Hall,
White hart road, Plumstead,
London SE 18 1DF, ( SE28 OGU for satnav)
समय: दिनको २ बजे।