संसदीय दलको नेतामा देउवालाई नै सर्वसम्मत बनाउने तयारी सुरु


काठमाडौं – कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई नै सर्वसम्मत बनाउने तयारी सुरु गरिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

दलको नेताका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंहले समेत दाबी गरिरहेका बेला उनलाई उपनेतामा व्यवस्थापन गर्नेगरी देउवा पक्षका नेताहरु सहमतिबाटै सभापतिलाई नेता बनाउने तयारीमा लागेका हुन् ।

शनिबार पूर्वउपसभापति गोपालमान श्रेष्ठ र नेता रमेश लेखक दलको नेता देउवालाई सहमति गरेर उपनेता पौडेल पक्षमा दिनेगरी सहमति जुटाउन भन्दै वरिष्ठ नेता रामचन्द्र  पाैडेलको निवास बोहोराटार पुगेका थिए ।

पार्टीले संकटको सामना गरिरहेका बेला एकता जरुरी रहेको र एकताको सन्देश दिनका लागि समेत सहमतिबाटै दलको नेता चुन्नुपर्ने भन्दै उनीहरुले नेता पौडेलसँग उपनेता सिंहलाई बनाउने गरी मनाउन आग्रह गरेका हुन् ।

छलफलमा सहभागी नेता श्रेष्ठले पार्टीले संकटको सामना गरिहेकाले सहमति गरेरै अघि बढ्न नेता पौडेलसँग प्रस्ताव गरेको बताए ।