एकता हुन नदिन षड्यन्त्र भइरहेको प्रचण्डको दाबी


काठमाण्डौ – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थीबीचको एकता भाँड्न विभिन्न तत्वले षड्यन्त्र गरिरहेको बताएका छन् । महोत्तरीको हात्तीनेटमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी एकता र गठबन्धनको प्रक्रिया सुरु भएदेखि पार्टी एकता हुन नदिन षड्यन्त्र भइरहेको दाबी गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै पनि सरकार पाँच वर्ष टिकेन । त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालको लागि कम्युनिस्ट शक्तिबीच एकता र वाम गठबन्धन जरुरी छ भनेर मैले नै प्रस्ताव अगाडि बढाएँ,’ प्रचण्डले भने, ‘जनताको चाहना पनि यही भएकाले अहिले झन्डै दुईतिहाइ बहुमत वामपन्थीको आएको छ । तर, वाम एकता नहोस् र नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकून् भनेर देशी विदेशी प्रतिक्रियावादी लागिपरेका छन् ।’

वाम गठबन्धनको झन्डै दुईतिहाइ बहुमत आएपछि एमाले र माओवादी केन्द्रलाई प्रलोभन र धम्की दिएर एकता भाँड्ने षड्यन्त्र भएको उनको भनाइ थियो । ‘निर्वाचनमा दुईतिहाइ आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ,’ प्रचण्डले भने ।

यी हुन् प्याकेज छलफलका एजेन्डा

प्रधानमन्त्री ओली र प्रचण्डबीचको समझदारीअनुसार एकता संयोजनको बैठकमा पार्टी एकताका बाँकी विषय, मन्त्रिपरिषद् भागबन्डालगायत सबै मुद्दामा छलफल हुनेछ । सैद्धान्तिक–वैचारिक विषय र नेतृत्व करिब टुंगो लागिसकेकाले एकीकृत पार्टीको सांगठनिक स्वरूपका विषयमा संयोजन समितिमा छलफल हुनेछ । दुवै अध्यक्षबीच अन्तरिम कालका लागि सकभर दुई अंकको केन्द्रीय कमिटी र छरितो स्थायी समिति बनाउने दिशामा छलफल भए पनि औपचारिक छलफल भएको छैन । तर, सरकारमा दुवैले आलोपालो नेतृत्व गर्ने समझदारी भइसकेको छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षका साथै मन्त्रालय भागबन्डा टुंगो लाग्न बाँकी छ । १५ वटा मन्त्रालयमा दुवै पार्टीले चुनावी परिणामका आधारमा सम्मानजनक भागबन्डा गर्ने तयारी गरेका छन् ।