पोखरा – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले छिटटै बाम सरकार बन्ने बताउनु भएको छ । पहिचान माछापुच्छ्रे गाउँपालिकाको, जर्गेना धर्म, संस्कृति र पर्यटनको’ भन्ने मुल नाराका साथ बानेटाकुर धार्मिक क्षेत्र संरक्षण समिति माछापुच्छ्रे गाउँपालिका–४, लाहाचोकद्धारा आयोजित महाशिवरात्री महामेलाको शनिबार उद्घाटन गदै उहाँले बाम सरकारको निर्माणसंगै देशमा विकास र समृद्धिको यात्रा अगाडी बढने बताउनुभयो । निर्वाचनमा नेपाली जनताले स्थिर सरकार, आर्थिक विकास र समृद्धिको एजेण्डालाई विजय गराएको बताउदै देश अव त्यस तर्फ अगाडी बढने बताउनुभयो ।
‘फागुन दोश्रो साताभित्र देशमा बाम गठबन्धनको स्थिर सरकार बन्छ, त्यसपछि विकास र समृद्धिले गति लिन्छ ।’ उहाँले निर्वाचनबाट प्राप्त जनमतलाई उपेक्षा गरेर लामो समय नयाँ सरकार निर्माणमा अवरोध सृजना गरिएको बताउनुभयो । ‘नयाँ जनादेश आएपछि त्यसको कदर नगरी उपेक्षा गर्ने काम भएको छ ।’ महासचिव पोखरेलले जनताले स्थिर सरकार र विकासका लागी जनमत दिएको बताउदै बाम गठबन्धन सरकार निर्माण हुने बताउनुभयो । प्रतिनिधि सभा सदस्य जगत विकले विकास र समृद्धिको लागी जनताले जिताएको बताउदै जनता समक्ष गरेको वाचा पुरा गर्ने बताउनुभयो । प्रदेश चारका सांसद जीवन बरालले जनताको वीचमा रहेर जनताका समस्या समाधानमा लागी रहने बताउनुभयो । कार्यक्रम मेला संयोजक पानबहादुर जिसीको अध्यक्षतामा भएको थियो ।
मेलामा खुल्ला भलिवल प्रतियोगिता, गाउँपालिकास्तरिय नौमती बाजा प्रतियोगिता, खुल्ला भजन चुड्का प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, लोपउन्मुख भदौरे भाखा (हुरी गीत) प्रतियोगिता, नौमति बाजामा नृत्य प्रतियोगिता, हास्य कलाकारका विभिन्न प्रस्तुति, राष्ट्रिय तथा स्थानिय कलाकारहरुका अन्य प्रस्तुति साथै विभिन्न सांस्कृतिक तथा पुरातात्विक स्थलहरुको अवलोकन गराइने आयोजकले जनाएको छ ।
लाहाचोकमा जेष्ठ नागरिक बहुउद्देश्यीय भवन निर्माण गर्ने, सांस्कृतिक तथा धार्मिक स्थलहरुको जर्गेना गर्ने, सांस्कृतिक र धार्मिक पर्यटनको विकास साथै व्यवसायिकतालाई पछ्याउने उद्देश्यका साथ मेला गरिएको संयोजक पानबहादुर जिसीले बताउनुभयो ।। मेलाको ७० हजार दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ ।