विद्यार्थीको आन्दोलन टुंगियो, बेलुकाको समयमा पनि बसमा छुट पाउने


पोखरा – पोखराका विद्यार्थीले बेलुकाको समयमा पनि बसमा छुट पाउने भएका छन् । बुधबार विद्यार्थी, प्रहरी प्रशासन र यातयात व्यवसायीबीच बेलुकाको समयमा पनि विद्यार्थीलाई बसमा छुट दिने सहमति भएको हो ।

विद्यार्थी सहुलियतकै विषयमा विवादपछि सोमबार साँझ नगरबसको ठक्करबाट विद्यार्थी वोधराज ढकालको मृत्यु भएपछि विद्यार्थी आन्दोलनले २ दिनदेखि पोखरा नगर बस चलेका थिएनन् ।

नेविसंघ स्याङ्जा पोखरा सम्पर्क समितिका सभापति ढकालको मृत्युको विषयलाई लिएर भएको विद्यार्थी आन्दोलन बुधबारमा टुङ्गिएको हो । त्रिपक्षीय छलफलपछि ७ बुँदे सहमति भएको छ ।

सहमतिमा मृतकको परिवारलाई उचित राहत दिने, चालकलाई कडा कारबाही गर्ने, विद्यार्थीलाई बेलुका पनि छुट दिनेलगायतको सहमति भएको छ ।

यसअघि साँझ परेपछि यातायातमा विद्यार्थीले कार्ड छुट पाउँदैनथे । नगर बसको ठक्करले ढकालको मृत्यु भएपछि पोखरा पृथ्वीनारायण क्याम्पस बाहिर सबै विद्यार्थी संगठनले आन्दोलन गरेका थिए भने पोखरा नगर बसका सवारी साधन चल्न दिएका थिएनन् ।

सहमतिमा पृथ्वीनारायण क्याम्पस बगरबाट साँझ साढे ७ बजेसम्म गाडी छुटाउनुपर्ने सहमति भएको नेविसंघका नेता भानु ढकालले जानकारी दिए ।

आन्दोलनका सबै घाइतेलाई पोखरा नगर बसको तर्फबाट उपचार गराउने पनि सहमति भएको बताए । सहमति पत्रमा जिल्ला प्रहरी कार्यालय, संयुक्त विद्यार्थी आन्दोलन समिति र बस ब्यवसायी समितिले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सहमतिपछि मृतकका परिवारले बुधबार शव बुझेर दाहसंस्कार गरेका छन् । अन्त्येष्टिमा ढकाललाई नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापा, कांग्रेस नेता धनराज गुरुङ लगायतले कांग्रेसको झण्डा ओढाएका थिए । सहमतिसँगै बुधबारदेखि नगर बस चल्न थालेका छन् ।