काठमाण्डौ – निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक विजयी उम्मेदवारको नाम प्रस्तावित गर्न दलहरूलाई दिइने समयसीमा घटाएको छ । आयोगले समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी ७ दिनलाई ३ दिनमा झारेको हो ।आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
प्रतिनिधिसभा परिणाम ढिलो भएकोमा आलोचना बढेपछि केही दिन छिटो दिन आयोगले निर्देशिका संशोधन गरेको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको अन्तिम नतिजा फागुन ५ भित्र दिने तयारी छ ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले प्रतिनिधिसभाको परिणाम कसरी छिटो दिन सकिन्छ भन्ने उपाय निकाल्ने क्रममा निर्देशिका संशोधन गरिएको बताए । ‘संवैधानिक र कानुनी प्रावधानका कारण प्रतिनिधिसभा निर्वाचन परिणाम दिन राष्ट्रिय सभा निर्वाचन पर्खिनुपरेको हो,’ उनले भने, ‘राष्ट्रिय सभा निर्वाचन परिणामपछि द्रुत गतिमा काम गरेर प्रतिनिधिसभाको परिणाम दिने आयोगको तयारी छ ।’
पौडेलले ढिलोमा फागुन ५ गते प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाइसकिने बताए । उनका अनुसार राष्ट्रिय सभाको परिणाम माघ २५ गते आइसक्ने र माघ २६ गते समानुपातिकको नामावली बुझाउन दलहरूलाई ३ दिन समय दिएर पत्राचार गरिने तयारी छ ।
दलहरूले नाम बुझाउने अवधि माघ २९ सम्म पाउने छन् । ‘आयोग प्रतिनिधिसभाको परिणाम दिन आतुर छ, यसमा दलहरूले पनि सघाउनुपर्छ,’ आयुक्त पौडेलले भने, ‘३ दिनको अवधिभित्र दलहरूले नियमानुसार क्रम आबद्धता र क्लस्टर मिलाएरसूची बुझाए परिणाम अझ छिटो दिन सकिन्छ । सच्याउन समय दिनै पर्दैन ।’