प्रदेश नम्बर ४ अन्तर्गत पोखरामा दुई मन्त्रालय स्थापना


पोखरा – प्रदेश नम्बर ४ अन्तर्गत पोखरामा दुई मन्त्रालय स्थापना गरिएको छ । बिहिवार पार्दीस्थित सीप विकास प्रशिक्षण केन्द्रको निर्माणाधीन भवनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरी संचालनमा ल्याइएको छ ।

मन्त्रालय स्थापनासँगै प्रदेशका प्रमुख सचिव लक्ष्मण अर्यालले बिहीबारनै पद बहाली गरे । हाल क्षेत्रीय प्रशासकसमेत रहेका उनलाई सरकारले दोहोरो जिम्मेवारी दिएको हो । क्षेत्रीय प्रशासन कार्यालय रहेसम्म उनी क्षेत्रीय प्रशासकको रुपमा समेत काम गर्नेछन् ।

यसैगरी सोही कार्यालयको सचिवका रुपमा लालमणी ओझाले पनि बिहीबारै पदवहाली गरेका छन् । ओझाका अनुसार माघ २५ गतेभित्र बाँकी ५ वटा मन्त्रालय पनि स्थापना गरिनेछ ।

‘प्रदेशसभा बैठक र अरु मन्त्रालयसंग समन्वय तथा प्रदेश सरकारका थुप्रै कामको व्यवस्थापन गरिने उनले बताए । कार्यालयमा ४८ कर्मचारीको दरबन्दी भए पनि अहिले क्षेत्रीय प्रशासन कार्यालयबाट केही कर्मचारी लगेर काम गराइएको छ ।

त्यसैगरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव फणिन्द्रमणी पोखरेलले पनि विहीबारै पदबहाली गरी काम सम्हालेका छन् । उक्त मन्त्रालयमा २९ कर्मचारीको दरबन्दी भए पनि विहिवार आफुमात्रै रहेको र बिस्तारै कर्मचारीको व्यवस्थापन हुदै जाने उनले बताए । सीप बिकास प्रशिक्षण केन्द्रको उक्त भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालयसमेत रहने छ ।

यसैगरी हालको क्षेत्रीय शिक्षा निर्देशनालयको कार्यालयमा सामाजिक बिकास मन्त्रालय, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय राखिने भएको छ ।

शहरी बिकास तथा भवन डिभिजन कार्यालयमा भौतिक पूर्वाधार बिकास मन्त्रालय र वन कार्यालयको निर्माणाधीन भवनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने प्रस्ताव गरिएको र तिनैमा अन्तिम रुप दिईने योजना छ ।