व्यावसायी विन्दुकुमार थापा र कालु गुरुङलाई ज्यान मार्ने धम्की दिने पक्राउ


पोखरा –  पोखराका दुई व्यावसायीलाई ठुलो रकम माग गरि नदिए हत्याको धम्की दिनेलाई कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कास्की क्षेत्र नम्बर २ ख का सांसद तथा व्यासायी विन्दुकुमार थापा र व्यवसायी कालु गुरुङलाई ज्यान मार्ने धम्की दिने ४ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ भन्ने शंकर सहित अन्य ३ जनालाई पक्राउ गरिएको हो ।

उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्धामा बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ । २ करोड रुपैयाँ माग गर्दै उनीहरुले विभिन्न नम्बरबाट धम्क्याएका थिए । थापाले ज्यानको सुरक्षा माग गर्दै १ महिना अघि नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

‘पुस १५ देखि निरन्तर धम्की आईरहेको थियो । दिनमा ५ पटकसम्म फोन आउँथ्यो, थापाले बताए । उनका अनुसार मनोज पुनको नाम लिएर तिनीहरुले फोन गरेका थिए ।

कहिले नेपालबाट कहिले भारतबाट फोन आईरह्यो, थापा भन्छन्–एउटै मान्छे भारत पुगेर फोन गर्ने अनि नेपाल फर्किने गरेको रहेछ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ घटनाबारे थप अनुसन्धान चलिरहेकाले बिहीबार सार्वजनिक गर्ने कास्की प्रहरीले जानकारी दिएको छ ।