-रामकृष्ण पुडासैनी,म्याड्रिड
सबै साथी ८० हजारका भट्भटे चढ्छन्,
मेरो ८ सयको साइकल त्रिपट भाको ८ महिना भयो,
युरोपमा महिनाको १ लाख कमाइ हुन्छ रे,
बा लाई भनेर पल्लो पाटो बेच्न लगाइ दिनुस् न,
एजेन्टले ८ लाख मा युरोप लगी दिन्छ रे,
आमा म युरोप जान्छु।
………………
पासपोर्ट समाती दिल्ली पुर्यायो,
प्रोसेस भनेर दुबइ पुर्यायो,
भिषा भनेर लिबिया र सिरिया पुर्यायो,
डुङ्गा र लरी चढाई युरोप छिरायो,
८ लाखमा भनेको १४ लाख लिएर
आमा मलाई युरोप छिरायो।
……….
शरणार्थि बन्न बेल्जियम पुगेँ,
आर्मी बन्न फ्रान्स पुगेँ,
लुकी लुकी काम गर्न जर्मन पुगेँ,
कही कतै केही सिप लागेन आमा,
हार मानेर स्पेन पुगेँ,
………
कहिले भांडा माझ्न सिकेँ,
कहिले गोलभेँडा टिप्न सिकेँ,
कहिले अङ्गुर रोप्न सिकेँ,
तरकारीमा नुन अड्कल्न कहिल्यै आएन,
अनी कुइरेको भाषा पनि फिटिक्कै आएन,
संगतले होला शायद,
आमा मैले त हिन्दी पो चाडै सिकेँ।
………..
कागज बन्न ५ बर्ष लाग्यो,
गतिलो काम कहिल्यै पाइएन,
पल्लो पाटो बेचेर बिदेश आएको,
पल्लो पाटो फर्काउनु त परै जावोस,
आमालाई नौ गेडी र फुली किन्दिनै सकिन।
………
आधा कपाल फुले पछी बिहे गरियो,
श्रीमती झिकाउदा सार्है मुश्किलमा पारीयो,
न काम गतिलो,
न कमाइ गतिलो,
अचेल त आमा,
तिम्रा छोरा बुहारी दुबै हण्डरमा परीयो।
……….
न सिप सिकियो, न उद्दम गर्न सिकियो,
घर व्यबहारको थिचोले आमा
छलाँङ मार्न सधैं डराएँ,
काँचो माटोको अगेनो सधैं बलोस भनेर,
मेरो चुल्हो धेरै पटक बुझाएँ, आमा,
जती गर्दा पनि, बर्म गए कर्म सँगै,
२ छाक खान पाउँदा र सुकिलो लगाउँदा पनि,
गरीबिको रेखाबाट माथि उठ्न सकिन आमा।
………
आमा अब म नेपाल फर्कन्छु,
किनकी मैले अब बुझेँ आमा,
मैले जती मरिमेटे पनि, त्यो पल्लो पाटो बारी फर्काउन सक्दिन,
दुई छाक खान र सुकिलो लगाउन त अब नेपाल मा पनि सक्छु आमा,
यही हिम्मत आएको छ आमा,
किनकी यो परदेशमा एउटा अमुल्य कुरा सिके मैले,
कुनै पनि काम सानो हुँदैन रहेछ, काम गर्न लाज मान्नु हुँदैन रहेछ,
हो त्यही कुनै एउटा काम गर्छु आमा,
म अब नेपाल जान्छु आमा।
(प्रस्तुत कबिता अन्तर्राष्ट्रिय साहित्य समाज स्पेनले आयोजना गरेको कार्यक्रममा बाचन गरिएको थियो।)