प्रदेश ४ को प्रदेशसभाको पहिलो बैैठक माघ २२ गते बस्ने


पोखरा – प्रदेश ४ को प्रदेशसभाको पहिलो बैैठक माघ २२ गते बस्ने भएको छ । २२ गते ११ बजेलाई बैठक आहृवान गर्ने निर्णय भएको प्रदेश प्रमुख बाबुराम कुँवरले जानकारी दिए । सबै प्रदेश सांसदलाई २२ गते बस्ने बैठकको खबर गर्न सूचना गर्ने सचिबलाई निर्देशन दिएको बताए ।

प्रमुख सचिवले सूचना प्रकाशित गर्ने र ज्येष्ठ सदस्य अर्थात अस्थायी सभामुख जनकलाल श्रेष्ठमार्फत बैठक आहृवान हुने कुँवरले जानकारी दिए । पोखरा नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रलाई प्रदेश सभा बैठकस्थल र प्रदेशसभाको सचिवालय तोकिएको छ ।

निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको पहिलो वैठक डाक्नुपर्ने व्यवस्था छ । पहिलो अधिवेशनसँगै सभामुख, उपसभामुख निर्वाचनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेशसभा पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्ने व्यवस्था छ । प्रदेश ४ मा ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक पद्धतिबाट गरी ६० जना प्रदेश सांसद छन् ।