प्रदेश नम्बर ४ का सांसदहरुले आइतबार सपथ ग्रहण गरे


पोखरा – प्रदेश सभा सदस्यमा निवाचित प्रदेश नम्बर ४ का सांसदहरुले आइतबार सपथ ग्रहण गरेका छन् । प्रदेश नम्वर चारका प्रमुख बाबुराम कुँवरले ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई बिहान आफ्नै कार्यालयमा सपथ ग्रहण गराएका थिए । प्रदेश सभामा निवाचित सांसद श्रेष्ठले सवैभन्दा जेष्ठ सदस्य हुन् । ६७ वर्षिय श्रेष्ठले अरु ५८ सांसदलाई सपथ ग्रहण गराए । जेष्ठ सदस्य श्रेष्ठ एमालेबाट नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा पर्ने २ ‘ख’बाट निर्वाचित हुन् ।

पोखरा ३ नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रलाई प्रदेश सभास्थल बनाइएको छ। सपथका लागि सांसदहरु १० बजे प्रदेश सभास्थलमा उपस्थिति भएका थिए । ज्येष्ठ सदस्य श्रेष्ठले सवैलाई सपथ खुवाएका हुन् । सपथ ग्रहणमा २ जना सांसद भने अनुपस्थित भए । तनहुँ १ (१)बाट निर्वाचित एमाले सांसद रामबहादुर गुरुङ र मनाङ २ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सपथमा अनुपस्थित भएका थिए । तनुहँका सांसद रामबहादुर सामुहिक सपथ ग्रहणमा आउन ढिला भएका कारण सपथमा उपस्थित हुन नसकेपनि र पछि उनले दिउसो जेष्ठ सदस्य श्रेष्ठसंग सपथ ग्रहण गरेका छन् ।