पोखरा – नेपाल प्रहरीकी संगिता राईले राखेप च्याम्पियनसिप अन्तरगत भएको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नयाँ राष्ट्रिय किर्तिमान कायम गरेकी छिन् ।
राईले ४८ केजी तौल समूहमा राईले क्लिन एण्ड जर्कमा ६६ केजी भार बहनका साथ निता थापाको नाममा रहेको किर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय किर्तिमान आफ्नो नाममा लेखाउन सफल भएकी हुन् । निताले २०६२ सालमा विरगंजमा आयोजना भएको राधिका स्मृती कपमा राखेको ६५ केजी तौललाई भंग गर्दै राष्ट्रिय किर्तिमान राखेकी हुन । उनले स्न्याच तर्फ ५२ केजी भारका साथ कुलमा ११८ केजीका साथ स्वर्ण पदक प्राप्त गरिन् । सेनाकी मनिष रानाभाटले रजत पाईन् । उनले स्नाचमा ५१ र क्लिन एण्ड जर्कमा ६३ केजी गरि कुल ११४ केजी भार बहन गरिन् । झापाकी करिना चौधरीले स्नाचमा ३५ केजी र क्लिन एण्ड जर्ककमा ५१ केजीका साथ कुलमा ८६ केजी उचाल्दै कास्य पदक पाईन् । पहिलो दोश्रो र तेश्रो हुनेले स्नाच, क्लिन एण्ड जर्क र कुलमा गरि तीन स्वर्ण प्राप्त गरे ।
पोखराको उद्योग वाणिज्य संघको हलमा भएको प्रतियोगितामा ५३ केजी तौलमा सन्जु चौधरीले आफ्नै नाममा रहेको किर्तिमानमा सुधार गरिन् । उनले स्नाचमा २०१७ मा कोरियामा सम्पन्न एशियन क्लब तथा एशिया कपमा राखेको ६१ केजी तौललाई सुधार गर्दै ६३ केजी भार बहन गर्दै स्वर्ण पाईन् । यस्तै उनले क्लिन एण्ड जर्कमा ८२ केजी भार बहन गर्दै सुनिललाल जोशी स्मृती कप २०७४ मा राखेको ८१ केजीलाई सुधार गर्दै अर्को किर्तिमान राखिन । यस्तै उनले कुलमा पनि कोरियामा राखेको १४० केजीमा सुधार गर्दै १४५ केजीका साथ स्वर्ण पाईन् । दोश्रो स्थानमा नेपाल प्रहरीकी देवी कुमारी चौधरी रहिन उनले स्नाचमा ६२ केजी, क्लिन एण्ड जर्कमा ७५ र कुलमा १३७ केजीका साथ रजत र सप्तरीकी काजल यादवले स्नाचमा ४५, क्लिन एण्ड जर्कमा ५० र कुलमा ९५ केजी भार बहनका साथ कास्य पाईन् । महिलाकै ५८ केजी तौलमा सेनाकी कमला श्रेष्ठले स्नाचमा ६५ केजी भार बहन गरिन् । उनले क्लिन एण्ड ८६ केजीका साथ नयाँ राष्ट्रिय किर्तिमान राखिन् । उनले ललितपुरमा सम्पन्न एशियन युथ तथा जुनियर च्याम्पियनसिपम ८५ केजीको किर्तिमान राखेकी थिईन् । उनले कुलमा पनि १५१ केजीका साथ स्वर्ण पाईन् ।
यस्तै पुरुष तर्फको ५२ केजी तौलमा प्रहरीका गणेश रानाभाटले स्वर्ण प्राप्त गरे । उनले स्नाचमा ६७ केजी र क्लिन एण्ड जर्कमा ८२ गरि कुल १४९ केजी भार बहन गर्दै स्वर्ण पाए । त्यस्तै सप्तरीका लालबाबु पासवानले स्नाचमा ६५ र क्लिन एण्ड जर्कमा ८१ ग्रि कुल १४६ केजीका साथ रजत र सिराहाका बच्चुलाल चौधरीले स्नाचमा ६० र क्लिनमा ६६ केजीका साथ कुल १२६ केजीका साथ कास्य पाए । पुरुषकै ५६ केजीमा सेनाका तुलाराम महतोले स्नाचमा ८३ केजी र कुलमा १७९ केजीका साथ स्वर्ण पाए । उनले क्लिनमा ९६ केजी भार बहन गर्दै रजतमा चित्त बुभाए । उनलाई क्लिनमा सप्तरीका मनोज यादवले १०० केजी भार बहन गर्दै दोश्रो स्थानमा चित्त बुझाउन बाध्य पारे । यादवले स्वर्ण पाए । क्लिन र कुलमा ७६ र १७६ केजीका साथ रजत पाए । तेश्रो स्थानमा रहेका सप्तरीकै रामकुमार यादवले स्नाच, क्लिन र कुलमा ७०, ९० र १६० केजीका साथ कास्य पाए ।
भारोत्तोलन च्याम्पियनसिपमा प्रत्येक विधा स्नाच, क्लिन एण्ड जर्क र कुलमा गरि तीन पदक प्रदान गरिन्छ । प्रतियोगितामा तीन विभागिय टोली सेना, प्रहरी र सेना तथा २४ महिला र ५९ पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।