गुलाफ बाँच्छ..


  • डा. विनय श्रेष्ठ
    मडारिंदो मेघको कालो घुम्टोमा
    रजनी उद्घाटित हुन्छिन्
    आँखामा बादल मेरा, मनमा निस्पट्ट अन्धकार
    घनघोर आँसु बर्सन्छ, त्यो वर्षाको प्रत्येक कण─
    हृदयतलमा वर्षादको कम्पन
    देहमा मेरो स्मृतिका स्पन्दन
    भूत र वर्तमान । सायद भविष्य पनि !

    मेरो स्वप्न जरा हो । म फैलन्छु फुलबारीसम्म
    अहो ! मेरो गुलाफ
    काँट, छाँट र मलजलपछि फक्रिएका
    सुन्दर प्रिय बदिनी
    स्वैरकल्पनाले म निथ्रुक्क भिज्छु
    पानी बर्सदैं होला पुष्पदलमा
    आशान्वित म “गुलाफ जल” बन्छ कि ?
    डाँठ र हाँगाहरु लचक्क निहुरिएका
    सौन्दर्यको गुरूत्व, शोभाको सौम्यता
    कतै वृष्टिको चोटसंगै झर्छ कि ?
    मर्माहित बन्छु म

    सखारै, मन फुलबारीमा हतारिन्छ
    अवलोकन, परिशिलन र ब्याकुल मेरो मन
    पुष्पदलमा विखण्डित गुलाफ देख्दा स्थिर मेरो मन
    तैपनि,
    त्यो अझै उज्ज्वल छ
    टुक्रिए पनि जीवन्त छ
    गरिमा उहि छ

    अब,
    गुलाफको संझना भित्तामा सिमित छ,
    सिर्फ पोष्टर बाँच्छ ।
    सम्मोह दिलमा,
    धडकन बाँच्छ।