बुझेर मत हाल्नुपर्ने बेला आएको छ : काग्रेस उम्मेदवार चालिसे


पोखरा –  कास्की निर्वाचन क्षेत्र नम्बर २ मा काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका देवराज चालिसेले काम गर्न नसक्नेहरुले जनतासँग भोट माग्न नहुने तर्क अघि सारेका छन् । साथै उनले आफू निर्वाचित भएपछि काम भन्दा बढि गफ गरेको खण्डमा आफैलाई पनि पाखा लगाउन जनतासँग आग्रह गरे ।

‘अझै पनि राजनीति पैसा कमाउने उद्देश्यसहित गर्नेहरु चुनावी मैदानमा देखिएका छन् । जनताले यो कुरा बुझ्न आवश्यक छ ।’ उनले भने–‘राजनीतिमा योजना सहित आउनुपर्छ । तर हामीकहाँ राजनीति गर्ने मान्छे भ्रष्टाचार गरेर पैसा कमाउने उद्देश्यसहित आउँछन् ।’ उनले नराम्रा र भ्रष्ट मान्छेलाई ‘आफ्नो’ भनेर नच्याप्न मतदाताहरुलाई आग्रह समेत गरे । उनले पैसा कमाउने भए व्यापार गर्न सुझाव दिँदै प्रतिस्पर्धीलाई काम गर्ने भिजनसहित निर्वाचनमा आउन आह्वान समेत गरे ।

जनताले निर्वाचित गरेको प्रतिनीधिको माध्यमबाट जनताले नै शासन गर्ने पद्दती नै लोकतन्त्र भएको उल्लेख गर्दै चालिसेले गतिलो प्रतिनीधि छान्न आग्रह गरे । ‘अहिलेसम्म निर्वाचित भएकाले जनताकै आँखामा छारो हालेर उनीहरुमाथि नै शासन गरिरहेका छन् । र, सिस्टम बिगारेका छन् ।’ उनले भने–‘त्यसैले बुझेर मत हाल्नुपर्ने बेला आएको छ ।’

काँग्रेसभित्र पनि थुप्रै समस्या रहेपनि अरु पार्टीभन्दा कम समस्या रहेको बताउँदै उनले लोकतन्त्रको बचाऊ काँग्रेसले मात्रै गर्न सक्ने ठोकुवा गरे । भरतपोखरीमा भएको युवा भेला र पोखराको साईमन पार्टी प्यालेसमा भएको भेलामा उनले यस्तो बताएका हुन् ।

साथै उनले असारे विकास प्रणालीलाई पनि कटाक्ष गरे । ‘अरु बेला चुप लाग्ने अनि असारको बेलामा मात्रै विकासका क्रियाकलापलाई अगाडि बढाउने विषयमा पनि निर्वाचित प्रतिनीधि बोल्नुपर्छ ।’ उनले भने–‘तर यहाँ त झन् मिलेमतोमा असारे बजेट पचाउन प्रतिनीधि नै तल्लिन छन् ।’