बसन्त रानाभाट,बार्सिलोना
झण्डै २ सय ५० जना स्पेनीसहरुले हल खचाखच थियो। आईतबार स्पेनको बार्सिलोनामा फ्यामिलिया दि हेटौडा गैर सरकारी संस्थाले आफ्नो पाँचौ बार्षिकोत्सव मनाउँन लाग्दा स्पेनीसहरुको यति ठुलो उपस्थिति रहेको सम्भवत यो पहिलो पटक हो।
स्पेनबाट १९ बर्षको उमेरमा नै नेपाल पुगेर आशा बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र खोलेकी आईना बार्कालाई सहयोग तथा हौसला दिन यति ठुलो संख्यामा स्पेनीहरु जुटेका हुन्। मकवानपुरको हेटौडा नगरपालिका -६ गौरीटारमा रहेको उक्त स्कुलमा २८ जना सुस्तमनस्थिति भएका बालबालिकाहरु रहेका छन्।हेटौडामा नै पुगेर पुनर्स्थापना केन्द्रलाई सहयोग गरेका दुई स्वंयसेवकहरुले बालबालिकाहरु सम्झदै आँशु चुहाए। फिजियोथेरापिष्ट तथा नर्स मारिया बोईक्स तिन पटक नेपाल पुगिसकेकी छन्। उनले एक बर्ष सम्म सोहि केन्द्रमा रहेर तालिम पनि दिएकि हुन्।
मारियाले भनिन्,”सुरुवातमा धेरै अप्ठाराहरु थिए,तर अहिले बाताबरण धेरै सहज बन्दै गएको छ र बालबालिकाहरु पनि धेरै छन्। आफैले तालिम दिएका फिजियोथेरापिष्टहरु अहिले आँफू भन्दा पनि उत्कृष्ट रहेको देख्दा धेरै खुशी लाग्छ।”नुरिया आरबेसु बोल्दै गर्दा निकै भाबुक भईन्। आँफू नेपाल छदा नेपाली बालबालिकाहरुसँगै बिताएको पललाई सम्झदै आईनाको प्रंशसा गरिन्। “ हिजो जस्तै लाग्छ हामीसँगै पढ़थ्यौ,आज गर्व लाग्छ मेरो एउटा साथीले नेपालमा नै बसेर बालबालिकाहरका लागि काम गरिरहेकी छन्। नेपाली हस्तकलाका सामानहरु बिक्रि गरेर पुर्नस्थापना केन्द्रलाई नुरियाले सहयोग जुटाउदै आएकी छिन्।
छुट्टी मनाउन सात बर्ष अघि नेपाल पुगेकी आईनालाई अन्तत: नेपालले नै तानिरह्यो। उनि केहि बर्ष यता नेपालमा नै बसेर बालबालिकाहरुसँगै समय बिताईरहेकी छन्। ”म बिश्वास नै गर्न सक्दिन पाँच बर्ष बितिसकेछ,यहाँहरु कै सहयोग र प्रेरेणाले काम गर्ने हौसला मिलिरहेको छ। १२ जना बालिकाहरु थिए अहिले २८ जना भए,अब नयाँ भवन बने पछि ५५ जनालाई पढाउँन पाउछौ।” आईनाले भनिन्।
कार्यक्रममा नेपाली बाँसुरीबाधक बिनोद कटुवाल र दि बिटीङ् सोल ब्याण्डले प्रस्तुति राखेका थिए। कार्यक्रमबाट झन्डै ४ लाख रुपैयाँ संकलन भएको छ। सयौको संख्यामा स्पेनीहरु पुगेको कार्यक्रममा नेपालीहरुको उपस्थिति भने न्यून रह्यो। तस्बिर:– साईग्रेस