काठमाडौ साउन १८-
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभालाई सम्बोधन गर्न आउँदा उनले नेपालीको हृदय छुने गरी नेपाली भाषामा आफ्नो सम्बोधन सुरू गरे, ‘म नेपालमा आउँन पाउँदा अत्यत्नै हर्षित छु।’
संविधानसभामा सम्बोधन गर्ने पहिलो विदेशी सरकार प्रमुख बनेका मोदीले दुई देशबीचको सम्बन्धदेखि विकास निर्माणसम्मका विषय सरल ढंगले प्रस्तुत गरे। उनले संविधान निर्माण गर्ने गुरूत्तर जिम्मेवारी बोकेका सभासद र नेतालाई जसरी पनि यो काम गर्नुपर्छ भन्ने भारतीय नेता र कर्मचारीहरूको पूर्व शैलीभन्दा भिन्न उनले भने, ‘तपाईंहरूलाई संसारले हेरिरहेको छ।’
एउटा राम्रो संविधानका निम्ति प्रेरित गर्दै उनले भने, ‘संविधान यस्तो पुष्पगुच्छा हो जसमा पहाडदेखि तराईसम्मका सबै नेपालीले त्यसमा आफ्नो सुवास पाउन सक्नुपर्छ।’ संविधानमा रहेको एउटा कमा वा पूर्णविरामले समेत ५० वा सय वर्षमा ‘विषवृक्ष’को काम गर्न सक्ने भएकोले त्यसतर्फ ध्यान दिन पनि उनले सचेत गराएका छन्।
उनले सशस्त्र द्वन्द्व छाडेर शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको एमाओवादी दलको नाम नलिई ‘शस्त्रबाट शास्त्र’तर्फको यात्राका रूपमा उनले चित्रण गरे। नेपालले सुरु गरेको शान्ति प्रक्रिया द्वन्द्वमा रहेका संसारका अन्य मुलुकका निम्ति प्रेरक भएको भन्दै प्रशंसा गर्न उनी पछि परेनन्।
संविधान निर्माण तत्कालका निम्ति होइन भविश्यको नेपालका निम्ति महत्वपूर्ण प्रक्रिया भएको भन्न उनी पछि परेनन्। यसका निम्ति उनले ‘ऋषिमन’को आवश्यकतामा पनि जोड दिएका छन्।
भारतले जहिल्यै गौतम बुद्धको जन्म भारतमा भएको प्रचार गर्छ भन्ने नेपालीको गुनासोलाई सदाका निम्ति अन्त्य गराइदिएका छन्। उनले पाँचपटक बुद्धभूमिका रूपमा नेपाललाई चित्रण मात्र गरेनन् शान्तिपूर्ण मार्गमा प्रवेश गरेर युद्ध होइन बुद्ध यात्राका रूपमा यहाँको राजनीति अघि बढेको भन्न पछि परेनन्। नेपालको सार्वभँमसत्ताको कुरा गरे। हिमालयदेखि तराईसम्मको समुन्नतीको चर्चा गरे ।
थाइल्याण्डको राजपरिवारले राजा जनकको महत्तालाई बुझेर चित्रकथा प्रकाशित गराएको छ। मोदीले पनि जनकपुरको महत्वलाई दोहोर्याए। उनले सार्क सम्मेलनमा आउँदा बुद्ध जन्मस्थल लुम्बिनी र राजर्षि जनकको भूमि जनकपुरको भ्रमण गर्ने आश्वासन समेत उनले दिइसकेका छन्।
नेपालको जलस्रोतमा भारत कब्जा जमाउन चाहन्छ भन्ने चर्चा हालै उसले पठाएको उर्जा व्यापार सम्झौता (पिटिए)का कारण भइरहेको सन्दर्भलाई पनि उनले सम्बोधन गरेका छन्। उनले भारत बिजुली चाहन्छ तर सित्तैमा होइन भन्दै बजार भाउमा किन्न चाहेको भनि आश्वस्त पार्न खोजे।
नेपालको युवाशक्ति र जलशक्तिको अथाह सम्पत्तिलाई विम्बको रूपमा ‘पानी र जवानी’ पहाडबाट समथरतर्फ जाने भएकोले त्यसलाई उपयोग गर्नुपर्ने उनको राय रह्यो। अहिले नेपालको अँध्यारो हटाउन भारतले दिइहेको बिजुलीलाई दोब्बर गर्ने र दश वर्षपछि भारतले नेपालको अँध्यारो हटाउन सहयोग गर्ने बाचा पनि उनले व्यक्त गरे।
६ हजार पाँच सय मेगावाट क्षमताको पञ्चेश्वर आयोजना बनाउन भारतले ढिलाइ गरिहेको गुनासो नेपालमा थियो। उनले यो बनेपछि अहिले नेपालको विद्युत क्षमता पाँच गुणा बढ्ने हिसाब प्रस्तुत गरेर यसको निर्माणप्रतिको तत्परता पनि देखाएका छन्।
उनले नेपालीको प्रशंसा गर्न कुनै हिसाबमा कञ्जुस्याइ गरेनन्। भारतका प्रत्येक लडाइँमा नेपालीको रगत बगेको सन्दर्भ अघि सार्दै भारतीय जनरल साम मानेकसालाई उदृत गर्दै उनले भने, ‘कोही मृत्युसँग डर लाग्दैन भन्छ भने या त त्यो ढाटिरहेको छ या त त्यो गोर्खा हो।’
नेपालका विकास प्राथमिकतालाई मोदीले राम्ररी बुझेको सन्देश दिएका छन्। यी सम्भावनालाई उनले पौराणिक कथा र अरू प्रसंगसहित अगाडि ल्याए। मर्यादा पुरूषोत्तम रामका भाइ लक्ष्मण मुर्छापरेपछि हनुमानजी जडीबुटी खोज्न यहाँ आएको प्रशंग उल्लेख गर्दै यसको विकासमा जोड दिन उनको आग्रह रह्यो। नेपाललाई अर्गानिक खेतीको नमूना राष्ट्र बनाउन सकिने बताए।
रोमाञ्चक पर्यटनका निम्ति नेपाल संसारभरिका युवाहरूका निम्ति आकर्षण रहेको पनि उनले मुग्धकण्ठले प्रस्तुत गरे। नेपालको विकास भारतको प्राथमिकता हो भन्ने सन्देश दिन उनी पछि परेनन्। उनले नेपाली विद्यार्थीलाई छात्रवृत्ति बढाउनेदेखि सहुलियत ऋणसम्म दिने वाचा गरेर पनि सर्वसाधारणको मन जित्न खोजेका छन्।
नेपालका सबैभन्दा पछिल्ला घटनामा समेत मोदीले आफू जानकार रहेको सन्देश दिन सफल भएका छन्। उनले सुनकोशीमा पहिरो आएको घटनाले आफू दुःखी भएको बताए। ‘यो दुःख तपाईंको हो, मेरो पनि हो,’ उनले भने।
उनले सांकेतिक रूपमा नेपाललाई ‘हिट’ गराउने मोदी सूत्रका रूपमा हाइवे (राजमार्ग), आइवे (सूचनाप्रविधि मार्ग) र टीवे (ट्रासमिसन लाइन) अघि सारे। उनले भारत र नेपालबीचको बोर्डर (सीमा) ब्यारिअर (अवरोध) हुनु नहुने भन्दै यसलाई अझ निकट ल्याउन महाकालीमा पुल बनाउने आवश्यकतामा जोड दिए।
नेपाल र भारतबीच ‘रोटी र बेटी’को सम्बन्ध भन्ने यसअघि व्यक्त हुने धारणासँगै मिल्दो तर सर्वसाधारणलाई छुने गरी सस्तो टेलिफोन सेवाबारे उल्लेख गर्न पनि उनी पछि परेनन्। ‘मलाई आश्चर्य लाग्छ अमेरिकामा गर्ने फोनभन्दा भारत र नेपालबीचको टेलिफोन महसुल महँगो छ,’ उनले भने, ‘टेलिफोनमा नमस्ते गरेर राख्नु पर्ने हुन्छ।’
टेलिफोनमा जति धेरै कुरा हुन्छ त्यति नै सम्बन्ध बढ्ने उनको विश्वास थियो। दुई देशबीचका धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्धबारे उनको जानकारीले सर्वसाधारणलाई आश्चर्यमा पारेको छ। निकट छिमेकी मुलुक भए पनि १७ वर्षसम्म भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हुन सकेको थिएन।
‘अब यस्तो हुने छैन,’ उनले आश्वस्त पार्न खोजेका छन्।
खुला सीमाको आनन्द लिइरहेका दुई छिमेकी मुलुकबीचको सम्बन्धको व्यवस्थापन एजेन्सी र कर्मचारीको तहमै सीमित रहँदा देखिएको अविश्वास चिर्न भारतीय प्रधानमन्त्री मोदी सफल भएका छन्। मोदीको मीठो बाचा व्यवहारमा रुपान्तरण भयो भने यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई कटुताबाट घनिष्टतार्फ लैजाने विश्वास बढाएको छ भनी सेतोपाटीले आफ्नो समाचारमा लेखेको छ।