पोखरा – कास्की क्षेत्र नं २ मा वाम गठबन्धनका प्रतिनिधि सभा र प्रदेश सभाका साझा उम्मेदवारहरुले देशमा स्थिरता र विकासका लागि वामपन्थीको विकल्प नभएको बताएका छन् । उनीहरुले निर्वाचनपछि विकासका लागि आवश्यक पूर्वाधारहरु बनाउँदै समृद्धि र स्थिरतातर्फ लाग्ने प्रतिवद्धतासमेत जनाए ।
मंगलबार पोखरा–२० का कुरगाउँ, आटीघर, मोरिया, मौजा आदि क्षेत्रमा घरदैलो र कोणसभा गर्दै उनीहरुले यस्तो बताएका हुन् । कास्की २ प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र अधिकारीले मौजालाई पोखरासँग जोड्न पक्की बाटो बनाउने प्रतिवद्धता गरे । अबको २० वर्ष निर्वाचन क्षेत्र परिवर्तन नहुने विश्वास दिलाउँदै उनले मौजामा सबै विकासका पूर्वाधार पु¥याउने बताए ।
कास्की २ कका उम्मेदवार राजकाजी गुरूङ ‘करण’ले पर्यटन र कृषिकै माध्यमबाट यो क्षेत्रको विकास सम्भव भएको बताए । उनले भने, ‘बाख्रा, माछा र तरकारी आदिका लागि यो क्षेत्र उपयुक्त छ । होमस्टे प्रवद्र्धन गरी स्वदेशी र विदेशीलाई समेत आउने वातावरण बनाउन सकिन्छ ।’
एमाले नेता सोमनाथ अधिकारी ‘प्यासी’ले धान सप्रिदा एक वर्ष खान पुगेजस्तै वाम गठबन्धनले जिते ५ वर्षमै उल्लेख्य प्रगति हुुने बताए । उनले अबको विकासको भिजन वामपन्थीसँग मात्र भएको जिकिर गरे ।स्थानीय चित्रबहादुर गुरुङले सडक कच्ची भएकैले छोराछोरी पोखरा बस्दा गाउँमा बूढाबूढीमात्र बस्नुपरेको दुखेसो सुनाए । उनले भने, ‘स्थायी सरकार भए, बाटो, पूल भए हाम्रो गाउँको मुहार फेरिन्थ्यो ।’
वाम गठबन्धनकी समानुपातिक उम्मेदवार प्रभा अधिकारी कोइरालाले मुलुककै कायापलट र महिला अधिकारका लागिसमेत कम्युनिस्टको विजय आवश्यक भएको बताइन् ।
भरतपोखरीमा रवीन्द्र र कृष्ण
कास्की निर्वाचन क्षेत्र न २ बाट बाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीलाई उनको जन्मस्थल पोखरा लेखनाथ महानगरपालिका वडा न ३३ भरत पोखरीका बासिन्दाले स्वागत गरेका छन् । कास्की क्षेत्र न २ (१ ) का उम्मेदवार कृष्ण थापा, समानुपातिक उम्मेदवार भीम कार्की, श्रीजना शर्मालगायतलाई विजयी गराउन नेताहरुले आग्रह गरे. ।
हुर्केबढेको ठाउँले सधै आफूलाई शक्ति र प्रेरणा दिइरहेको र यसपालि थप जिम्मेवारी दिनेमा आफू विश्वस्त रहेको अधिकारीले बताए । उनले कुनै वाहाना र शक्तिले बामपन्थीको एकतालाई नरोक्ने दाबी गरे । उनले अब बन्ने सरकार बहुमतसहित बामपन्थीको हुने भन्दै समृद्धि सोही सरकारबाट मात्रै सम्भव हुने बताए ।
कास्की २ (१ ) का उम्मेदवार कृष्ण थापाले स्वाभिमानी नेपाली र समृद्ध नेपाल निर्माण गर्न गठबन्धन बनेको उल्लेख गरे । राष्ट्रिय नेताको पहिचान बनाइसकेका अधिकारीलाई आफूहरुले देशकै निर्णायक स्थानमा देख्न चाहेको स्थानीय जगत खड्का बताउँछन् ।
अधिकारीले मंगलबार ठूलापाखा, शान्ति टोल, भगबती चौतारा, कालिकास्थान लगायतका गाउँमा घरदैलो गरेका छन् ।