काठमाडौं – परिवार नै निर्वाचनको माहोलमा होमिएका वेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारमा बज्रपात परेको छ ।
आइतबार प्रचण्डका स्वकीय सचिव समेत रहेका एकमात्र छोरा प्रकाश दाहालको असामयिक निधनभएपछि दाहाललाई पुत्रशोकको बज्रपात परेको हो ।
लाजिम्पाटस्थित निवासमा शनिबार राति सुतेका प्रकाश बिहान ढिलोसम्म नउठेपछि हेर्दा उनी अचेत अवस्थामा फेला परेका थिए । तत्कालै उनलाई अस्पताल पुर्याइएपनि उनलाई चिकित्सकहरुले उनलाई बचाउन सकेनन् ।
प्रकाश प्रचण्डका एकमात्र छोरा हुन् । प्रकाशका श्रीमती र एक छोरा छन् । प्रकाश पत्नी बिना मगर कञ्चनपुर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार छिन् भने बुबा प्रचण्ड चितवन निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् ।
माओवादी सशस्त्र जनयुद्धमा समेत सहभागि भएका प्रकाश पछिल्लो समय बुबा प्रचण्डको सहयोगीको रुपमा रहदै आएका थिए । प्रकाश मिडिया फे्रण्डलीका रुपमा समेत चिनिन्थे ।
यता प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’बाट भएको नर्भिक अस्पतालले बताएको छ ।
माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ । डा. यादव भट्टका अनुसार विहान साढे ५ बजे अस्पताल लगिएको थियो । चिकित्सकहरुले विहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए ।
अस्पताल ल्याउँदा नै हात चिसो भइसकेको थियो भने पल्स नरहनुका साथै शरीर पनि केही कडा भइसकेको थियो ।
अस्पताल ल्याउनु करिव ३ घन्टा अघि नै आकस्मिक हृदयघात भएको चिकित्सकहरुको अनुमान छ ।
समबेदना
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको निधन भएपछि विभिन्न दलका नेताहरुले समवेदना व्यक्त गरेका छन् ।
प्रधामन्त्री शेरबहादुर देउवाले प्रचण्डका छोरा प्रकाशको अल्पायुमै भएको निधनले आफू मर्माहत भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत समावेदना व्यक्त गरेका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि सामाजिक सञ्जालबाट समवेदना व्यक्त गरेका छन् ।
यसैगरी राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले दाहालको निधनको समाचारले स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमा उनले ‘व्यक्तिगत रुपमा उनी असल मानिस थिए । दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु । प्रचण्डजी, सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पीडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन् । हार्दिक समवेदना,’ भनेका छन् ।