काठमाडौँ निर्वाचन क्षेत्र नं १ को चुनावी नतिजाबारे अनेक अड्कलबाजी


काठमाडौँ – चुनाव नजिकिँदै गर्दा काठमाडौँ निर्वाचन क्षेत्र नं १ को चुनावी नतिजाबारे अनेक अड्कलबाजी शुरु भएको छ ।

सो क्षेत्रमा प्रतिनिधिसभाका लागि नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, नेकपा ९एमाले० र नकेपा ९माओवादी केन्द्र०को वाम गठबन्धनबाट अनिलकुमार शर्मा, विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र, नेपाली काँग्रेस ९बिपी० बाट हरिबोल भट्टराई, नयाँ शक्ति पार्टीबाट नारायण ढकाललगायत २२ जनाको उम्मेदवारी परेको छ ।

महानगरपालिकाको १०, ११, २९ र ३१ नं वडामा रहेका पुरानो बानेश्वर, नयाँ बानेश्वर, बुद्धनगर, शान्तिनगर, मीनभवन, शंखमूल, मैतीदेवी, अनामनगर, त्रिपुरेश्वर, डिल्लीबजार, थापाथली, माइतीघर, भोटेबहाललगायतका क्षेत्र पर्छन् ।

पूर्व उप्रधानमन्त्रीसमेत रहनुभएका काँग्रेसका उम्मेदवार सिंह, माओवादी केन्द्रको विद्यार्थी संगठनका नेता रहनुभएका वाम गठबन्धनका उम्मेदवार शर्मा र बिबिसी नेपाली सेवाका पूर्व प्रमुख रहनुभएका साझा पार्टीका उम्मेदवार मिश्रबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

तीन उम्मेदवारमध्ये यसअघि सोही क्षेत्रबाट दुईपटक निर्वाचित सिंहलाई बलियो उम्मेदवारकारूपमा लिइएको छ । काँग्रेसको मत साझा पार्टीले बढी काटेमा गठबन्धनका उम्मेदवार शर्मालाई निर्वाचित हुन सहज हुने विश्लेषण गरिएको छ । यस्तै नयाँ व्यक्ति र पार्टीका रूपमा साझाका उम्मेदवार मिश्रले पनि बाजी मार्न सक्ने अड्कल छ ।

उम्मेदवार सिंह र शर्माको पारिवारिक सम्बन्ध नै राजनीतिमा जोडिएको छ । सिंह काँग्रेसका संस्थापक एवं पहिलो जनआन्दोलनका कमाण्डर गणेशमान सिंहका छोरा हुनुहुन्छ भने शर्मा माओवादी केन्द्रका नेता एवं ऊर्जा मन्त्री हुँदा विद्युत्भार कटौती गरेर चर्चा कमाउनुभएका जनार्दन शर्माका भाइ हुनुहुन्छ ।

यो क्षेत्रमा गत स्थानीय चुनावको मतपरिणामलाई विश्लेषण गर्दा थोरै मतअन्तरले विवेकशील साझा पार्टी पहिलो, वाम गठबन्धन दोस्रो र काँग्रेस तेस्रो स्थानमा थियो ।

एकता हुनुअघि स्थानीय तहमा विवेकशील पार्टी र साझा पार्टीका उम्मेदवारले पाएको मत ११ हजार २००, एमाले र माओवादीले पाएको मत १० हजार ९८८, काँग्रेस र राप्रपाले पाएको मत १० हजार ३८२ छ तर पछिल्लो समय यो क्षेत्रमा थपिएको पाँच हजार बढी मत कसको पक्षमा जान्छ भन्नेमा पनि अन्योल छ ।

सफा नगर, हरियाली, सफा नदी, चौडा र धुलोरहित सडकजस्ता योजना ती उम्मेदवारले प्रस्तुत गरिरहेका छन् ।

काँग्रेसका उम्मेदवार सिंह आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउनुहुन्छ । आफूले सांसदका रूपमा विगतमा यो क्षेत्रको विकासका लागि गरेका काम जनताले प्रत्यक्ष अनुभूति गरिरहेकाले फेरि पनि आफूलाई नै मतदाताले विजयी बनाउनेमा उहाँ विश्वस्त हुुनुहुन्छ ।

काठमाडौँका जनता परिवर्तनमा विश्वास गर्ने र युवालाई नेतृत्व दिने कुरामा यो जनमतले साथ दिने विश्वास आफूलाई रहेको गठबन्धनका उम्मेदवार शर्माले बताउनुभयो । वाम गठबन्धनपछि यो क्षेत्रका मतदातामा उत्साह थपिएको तथा विकास र स्थिरताका लागि गठबन्धनको पक्षमा मतदान गर्ने उहाँले बताउनुभयो ।

साझा पार्टीका उम्मेदवार मिश्रले पुराना पार्टीहरु पटक–पटक परीक्षण भई असफल सिद्ध भइसकेकाले नयाँलाई रोज्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । घरदैलोका क्रममा जनताले देखाएको स्नेह र सद्भावले आफूलाई हौसला बढाएको र निर्वाचित हुनेमा ढुक्क रहेको पनि उहाँले टिप्पणी गर्नुभयो ।

यस्तै प्रदेश सभातर्फ काँग्रेसबाट काठमाडौँ क्षेत्र नं १ ९क० दीपेन्द्र श्रेष्ठ र ‘ख’मा सुरजचन्द्र लामिछाने, गठबन्धनबाट ‘क’ मा विष्णुकुमारी भुसाल ९भट्टराई० र ‘ख’मा उम्मेदवार गणेशप्रसाद दुलाल तथा साझा पार्टीबाट ‘क’मा समीक्षा बास्कोटा र ‘ख’मा पुरुषोत्तम ढुंगेल उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं १ को ‘क’मा १३ जना र ‘ख’ मा १४ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगका अनुसार क्षेत्र नं १मा ४२ हजार ४३० मतदातामध्ये १ ‘क’मा २४ हजार ७५७ र ‘ख’ मा १७ हजार ६७३ मतदाता छन् । काठमाडौँमा प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ २० निर्वाचन क्षेत्र छन् । रासस