काठमाडौं – भोलि कात्तिक १६ गते आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि उम्मेद्वारी दर्ता गर्न आयोगले आग्रह गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ वटा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गर्न आग्रह गरेका हुन् । यसका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भइसकेको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी गराएका छन् ।
यस्तै आयोगले राजनीतिक दलका पार्टी प्रमुख तथा उच्च पदाधिकारीहरुले मनोनयन गर्ने भएकोले त्यसै अनुसारको उच्च सुरक्षा व्यवस्था मिलाउन सुरक्षा निकायलाई निर्देशन समेत दिएको छ ।
यसैबीच निर्वाचनका लागि आवश्यक पर्ने सामग्री आयोगमा प्राप्त हुने क्रम शुरु भइसकेको पनि यादवले जनाएका छन् । आयोगले मतदाता नामावली छपाई कार्य सम्पन्न भइसकेको छ । त्यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ७४ लाख मतपत्र छपाई गर्ने काम सम्पन्न भइसकेको छ । सर्वाेच्च अदालतको आदेशअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै पानामा मतपत्र छपाइ गर्ने कार्य जारी रहेको उनले जानकारी दिए ।
आयोगले प्रतिनिधिसभा सदस्यका लागि हरियो रङमा निर्वाचन चिह्न भएको मतपत्र र प्रदेशसभाका लागि कालो मसीमा निर्वाचन चिन्हहरु रहने गरी मतपत्रको ढाँचा स्वीकृत गरी २१ जिल्लाको मतपत्र छाप्न पठाइसकेको छ र कात्तिक २० गतेसम्म पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका सम्पूर्ण मतपत्र छपाई गरी सम्बिन्धित जिल्लामा पठाउने कार्य योजना अनुसार तीव्र गतिमा काम भइरहेको जानकारी दिएको छ ।
आयोगले आचार आचार संहिता उल्लंघन भएमा आवश्यक कारबाही गर्न ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीलगायतलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निवर्तमान सांसदको सिफारिशमा सञ्चालन गर्न आचार संहिता प्रतिकूल भएकाले त्यस्ता कार्यक्रम रोक्न आयोगले निर्देशन दिएको र ७७ वटै जिल्लाबाट त्यस्ता कार्यक्रम रद्द गरी १० अर्ब रुपियाँ निकासा रोक्का भइसकेको जानकारी आयोगलाई प्राप्त भएको प्रमुख आयुक्त यादवले जानकारी दिए ।