पोखरा – मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै आफ्नो पक्षमा टिकट हात पर्न केन्द्र लागि परेका छन् ।
महानगर र गाउँपालिकाका चोक, चौतारा र चियापसलमा निर्वाचनकै बारेमा चर्चा परिचर्चा चलेको छ । कस्ले टिकट हात पारेर जित्लान् भन्ने समिक्षा पनि हुने गरेको छ । सबै राजनीतिक दलका जिल्ला समितिले आ–आफ्ना पार्टीका उम्मेदवारका आकांक्षीको नाम संकलन गरेर केन्द्रमा सिफारिस गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नयाँशक्ति पार्टी र संघीय समाजवादी फोरम नेपाललगायत सबैले उम्मेदवारको नाम केन्द्रमा पठाएका हुन्।
कास्कीमा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन कात्तिक १६ हो । केन्द्रमा सिफारिस गरिएका सम्भावित उम्मेदवार यतिबेला टिकट पाउन दौडधुपमा लागेका छन्। उम्मेदवारका आकांक्षी धेरै भएकाले टिकट वितरण गर्न नेतालाई पनि निकै सकस छ । कास्कीमा प्रतिनिधि सभा निर्वाचनका लागि तीन, प्रदेश सभाका लागि छ निर्वाचन क्षेत्र कायम गरिएको छ। यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा कास्कीमा चार निर्वाचन क्षेत्र कायम गरिएको थियो ।
दोस्रो संविधानसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं १ र २ बाट नेपाली काँग्रेस तथा क्षेत्र नं ३ र ४ बाट एमाले जितेको थियो। क्षेत्र नं १ बाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा, क्षेत्र नं २ बाट काँग्रेसकै शारदा पौडेल, क्षेत्र नं ३ बाट नेकपा एमालेका केन्द्रीय सदस्य रवीन्द्र अधिकारी र क्षेत्र नं ४ बाट एमालेकै केन्द्रीय सदस्य सीता गिरी ओली विजयी भएका थिए।
क्षेत्र नं १ मा एमालेबाट पार्टीका केन्द्रीय सल्लाहकार परिषदका उपाध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी सर्वसम्मत सिफारिसमा परेका छन्। माओवादी केन्द्रबाट सर्वसम्मत सिफारिसमा परेका पूर्वमन्त्री देव गुरुङले वाम गठबन्धनबाट लमजुङमा उम्मेदवारी दिई सकेकाले अधिकारी सम्भवतः सो क्षेत्रकों बाम गठबन्धनका एक्ला उम्मेदवार छन्।
लोकतान्त्रिक मोर्चाबाट नेपाली काँग्रेसका यज्ञबहादुर थापा, पूर्व सभामुख तारानाथ रानाभाट र पार्टीका केन्द्रीय सदस्य जीवन परियारमध्ये एकजनाले टिकट पाउने चर्चा छ। त्यस्तै, क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेका नेता रवीन्द्र अधिकारी र माओवादी केन्द्रका नेता राजकाजी गुरुङ मध्येबाट एक र लोकतान्त्रिक मोर्चाबाट काँग्रेसका शारदा पौडेल, जिल्ला नेता सोभियतबहादुर अधिकारीमध्ये एकले टिकट पाउने पार्टी स्रोतले जनाएको छ।
यसरी नै क्षेत्र नं ३ मा वाम गठबन्धनबाट एमालेका नेता जगत विश्वकर्मा, जगन्नाथ बाँस्तोला, उमा कोइराला, माओवादी केन्द्रका रामजी बरालमध्ये एक र लोकतान्त्रिक मोर्चाबाट काँग्रेसका पूर्व राज्यमन्त्री महादेव गुरुङ, पूर्व सांसद शुक्रराज शर्मामध्ये एकले पाउने चर्चा कास्कीमा छ ।
कास्की जिल्लामा कुल मतदाता दुई लाख ५५ हजार ४ सय ५६ रहेका छन् । तीमध्ये पुरुष एक लाख १९ हजार २९४, महिला एक लाख ३६ हजार १५४ र तेस्रो लिंगी चार जना रहेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ८४, क्षेत्र नं २ मा ७० हजार ६५१ र क्षेत्र नं ३ मा ८८ हजार ७१७ मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । पोखरा लेखनाथ महानगरपालिका, अन्नपूर्ण, मादी, माछापुच्छ्रे र रुपा गाउँपालिकामा १५० मतदानस्थल र ३१७ मतदान केन्द्र कायम निर्वाचन कार्यालयले गरिएको छ।