काठमाण्डौ – मुग्लिङ–नारायणगढ सडकखण्डका सबै पुल नयाँ बनाइने भएको छ । सडक विस्तारको काम ६ महिनाभित्रै पूरा हुने भएकाले सडक क्षमताअनुसार नयाँ पुल बनाउन लागिएको हो । विश्व बैंकको करिब दुई अर्ब ९० करोड रुपैयाँ सहुलियत ऋणमा अहिले दुई लेनको सडक चार लेन बनाउने काम भइरहेको छ । सडक निर्माण अन्तिम चरणमा पुगेकाले छिटोभन्दा छिटो सक्ने गरी पुल निर्माण गर्न लागिएको सडक विभागले जानकारी दिएको छ।अाजकाे अन्नपूर्ण पोष्टमा खबर छापिएकाे छ ।
सबैजसो पुल पुराना र जीर्ण हुँदै गएका छन् । ३५ वर्षभन्दा पुराना पुल साँघुरा पनि छन् । विस्तारित सडकको क्षमता नथेग्ने पुल नहुँदा नयाँ बनाउनुपर्ने आवश्यकता देखिएको सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले अन्नपूर्णलाई बताए ।
यो सडकखण्डमा सानाठूला गरी १८ वटा पुल छन् । सडक विभागले विश्व बैंकको सहायता र सरकारको बजेटबाट नयाँ पुल बनाउनेछ । सबै पुल बनाउन एक अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्नेछ ।
यो सडकमा रहेका १८ पुलमध्ये तीन वटाको भने मर्मत गरी सञ्चालन गर्न सकिने अवस्थाका छन् । सडक विभागले चारवटा पुल पहिलो चरणमा निर्माण गर्ने गरी प्रस्ताव आह्वान गरेकोमा सोमबार एउटा पुलका लागि निर्माण कम्पनी छनोट गरेको छ ।