काठमाडौं – दलहरुले निर्माण गरेका वाम र लोकतान्त्रिक गठबन्धनमा बार्गेनिङ तीव्र हुँदै गएको छ । कांग्रेस नेतृत्वको गठबन्धनमा बार्गेनिङको मात्रा अझै बढी देखिएको छ । राजधानीबाट सोमबार प्रकाशित अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले गठबन्धनका सकसबारे सामग्री पस्केका छन् । पत्रपत्रिकाले लेखेका छन् – संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले नेपाली कांग्रेसले नेतृत्व गरेको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक्षतर्फ १ सय ६५ सिटमध्ये ५५ सिट र प्रदेशसभा चुनावमा ३३० सिटमध्ये १ सय ३१ सिट माग गर्ने निर्णय गरेका छन् । यसले कांग्रेसलार्इ अप्ठ्याराे परेकाे छ ।’
तीन साताअघि मन्त्रिपरिषद्बाट बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई नहटाउन सर्वोच्च अदालतले हिजो गरेको अन्तरिम आदेशलाई पनि आजका सबैजसो दैनिक पत्रिकाहरुले छापेका छन् । त्यस्तै न्यायाधीशविरुद्धको रिटले सर्वोच्चको इजलास प्रभावित भएको खबर पनि आजका पत्रपत्रिकामा छ ।
सन् १९५० को सन्धि फेरिनेदेखि राष्ट्रपतिको उम्मेदवारीमा धरौटी व्यवस्था हटेकोसम्मका खबरलाई आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएर प्रकाशित गरेका छन् ।