काठमाण्डौ – संसद्को कार्यकाल सकिन दुई सातामात्र बाँकी रहँदा व्यवस्थापिका संसद्ले विचाराधीन विधेयक पारित प्रक्रियालाई तीव्रता दिने भएकोे छ । संसद्ले निर्वाचन र संविधान कार्यान्वयनसँग सम्वन्धित विधेयकलाई प्राथमिकतामा राखेको छ । पछिल्ला बैठकमा दशभन्दा बढी विधेयक संसद्को दैनिक कार्यसूचीमा समेटिँदै आएका छन् । अधिकांश विधेयक पारित गर्ने कार्यसूचीमा पर्ने गरेका छन् ।
संसद् सचिवालय विधेयक शाखाका अनुसार २९ वटा विधेयक अहिले संसद् र समितिमा विचाराधीन छन् । यी अधिकांश विधेयक निर्वाचन र संविधान कार्यान्वयनसँग सम्बन्धित छन् । अाजकाे गाेरखापत्रमा खवर छापिएकाे छ ।
संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले निर्वाचन विधेयकलाई प्राथमिकतामा राखेको बताए । गौतमले भने, ‘अब छोटो समयमात्र बाँकी छ । प्रतिनिधिसभाको उम्मेदवार मनोनयनपछि संवैधानिक व्यवस्थाअनुसार संसद् रहँदैन । हामीले निर्वाचन र संविधान कार्यान्वयनका विधेयक प्राथमिकतामा राखेका छौँ । ’
सचिवालयले शुक्रबारको संसद्को सम्भावित कार्यसूची पनि प्रकाशित गरेको छ । प्रकाशित कार्यसूची अनुसार निर्वाचन विधेयक शुक्रबारै फास्टट्र्याकबाट पारित गर्ने कार्यसूची तय भएको छ । शुक्रबार राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक र राष्ट्रपति उपराष्ट्रपति निर्वाचन सम्बन्धी विधेयक दुवै पारित गर्ने तयारी छ ।
निर्वाचन विधेयकमा दर्ता भएका संशोधन संसद्को पूर्ण बैठकमा नै दफाबार छलफल गरी पारित गर्ने तयारी छ । यसअघि विधेयकको दफाबार छलफलका लागि सम्वन्धित समितिमा पठाउने प्रचलन थियो ।