एनआरएनलाई एक ढिक्का पार्ने भन्दै पन्तले गरे पुनः उपाध्यक्षमा लड्ने घोषणा


काठमाडौं / गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा कुमार पन्तले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।अक्टोवरको दोस्रो साता हुने संघको आठौ अन्तराष्ट्रिय महाधिबेशनमा पन्तले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन्।

विहीबार एक विज्ञप्ति जारी गर्दै पन्तले ‘कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एनआरएनलाई एक ढिक्का बनाइ अघि बढ्नु जिम्मेवार ठहर्ने भएकाले  उपाध्यक्ष पदमै निरन्तरता दिएको बताएका छन्।  महिनौ अघि देखि पन्तले अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा रहे पनि अर्का प्रत्यासी भवन भट्टसँगको सहमति पछि पुन: उम्मेदवारी दिएको बुझिएको छ।

पन्तले विज्ञप्तिमा भनेका छन्,”‘संस्थाभित्र पछिल्लो समय देखिएका आयामले गैरआवासीय नेपालीको यो साझा संगठनलाई विभिन्न कोणमा ध्रुवीकृत गर्दै लगेको छ। यस्तो अवस्थामा कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एक ढिक्का भइ अघि बढ्नु जिम्मेवार ठहर्छ । त्यही कर्तव्यलाई सम्मान गर्दै विश्वभरिका धेरै एनआरएन साथीहरूको अन्तक्र्रियापछि मैले आगामी १४ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमै उम्मेदवारी दिने निर्णय गरेको छु’

‘सन् २०१५—२०१७ को कार्यकाल मेरा लागि विश्वका सबै अन्र्तराष्ट्रिय समन्वय समितिका साथीहरूसम्म पुग्ने, सम्पूर्ण गैरआवासीय नेपालीका भावना, समस्या र आकांक्षाहरू बुझ्ने मौकाको रुपमा रह्यो’, विज्ञप्तिमा भनिएको छ, ‘उपाध्यक्ष पदलाई निरन्तरता दिँदै सबै विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीलाई संयुक्त लगानीको एउटै मालामा जोड्न चाहन्छु।’

राष्ट्रिय समन्वय परिषद जर्मनीको क्षेत्रीय समिति,अन्तराष्ट्रिय समन्वय परिषद सदस्यको जिम्मवारी पछि पन्त यूरोप क्षेत्रको संयोजक बनेका थिए। अध्यक्ष शेष घलेको पहिलो र दोस्रो कार्यकालमा क्रमश: उनले महासचिव र उपाध्यक्षको जिम्मेबारी निर्बाह गरिसकेका छन्। जर्मनी निबासी पन्त एक सफल युवा ब्यबसायी हुन्।