काग्रेस कास्की सभापति कृष्ण केसीले अन्तर्घात गरेकाे भन्दै कार्वाहीका लागि सिफारिस


 पोखरा –  नेपाली कांग्रेस रुपा गाउँपालिका कास्कीले स्थानीय तहको निर्वाचनमा कांग्रेस पराजित हुनुमा पार्टीका जिल्ला सभापति कृष्ण केसी र क्षेत्रीय सभापति बिर्जमान गुरुङसहितको अन्तर्घात मुख्य कारण भएको भन्दै कार्वाहीका लागि सिफारिस गरेको छ ।

गत असार १० गते बसेको नेपाली कांग्रेस रुपा गाउँपालिकाको बैठकले पार्टीको आधिकारिक उम्मेद्वारबिरुद्ध पार्टीका जिल्ला सभापति केसी, क्षेत्रीय सभापति गुरुङसहितका नेतारकार्यकर्ता लागेर हराएको भन्दै उनीहरुबिरुद्ध कार्वाहीका लागि सिफारिस गरेको खुलाशा भएको हो ।

समीक्षा बैठकले कार्वाहीका लागि सिफारिस गरेपनि पार्टीका जिल्ला सभापति केसी र क्षेत्रीय सभापति गुरुङले आफूबिरुद्ध कार्वाहीको सिफारिस भएपछि पार्टीको केन्द्रमा सिफारिस नगरी पेन्डिङमा राखेका थिए । क्षेत्र र जिल्लाले सिफारिस नगरेपछि रुपा गाउँपालिका कार्यसमितिले सिधै केन्द्रमा कार्वाहीको सिफारिस पत्र पठाएपछि अहिले कांग्रेस कास्कीमा हल्लीखल्ली मच्चिएको छ ।

रुपा गाउँपालिका कांग्रेसको सबैभन्दा राम्रो पकड भएको क्षेत्र हो । कांग्रेसले रुपा गाउँपालिकामा सहज जीत हासिल गर्ने अनुमान गरेको थियो । उसो त एमालेले पनि कास्कीका रुपा गाउँपालिकाबाहेक अन्य क्षेत्र जित्ने विश्लेषण गरेको थियो । तर कांग्रेसको अनुमान बिपरित र स्वयम् एमालेको अपेक्षाबिपरित आश्चर्यजनक नतिजा एमालेको पक्षमा गएको थियो ।

कांग्रेसले रुपा गाउँपालिकाको प्रमुखमा पोखरा उपत्यका नगर विकास समितिका बहालवाला अध्यक्ष प्रकाशमोहन खनाललाई उम्मेद्वार बनाएको थियो । खनाल पोखरा उपत्यका नगर विकास समितिबाट राजिनामा दिएर रुपा गाउँपालिकाको उम्मेद्वार बन्न पुगेका थिए । तर खनाल उम्मेद्वार बनेदेखि कांग्रेसको एक पक्ष उनीबिरुद्ध मोर्चाबन्दीमा लागेको बताइन्छ ।

कांग्रेस कास्कीका सभापति कृष्ण केसी तथा क्षेत्रीय सभापति बिर्जमान गुरुङले खनाललाई उम्मेद्वार बनाउन पटक्कै नचाहेको स्रोत बताउँछ । तर खनालको व्यक्तित्व र केन्द्रमा रहेको पहुँचका कारण क्षेत्र र जिल्ला नेतृत्व टिकट दिन बाध्य भयो । टिकट पाएपनि उक्त समूह हराउ अभियानमा लागेको रुपा गाउँपालिका कार्यसमितिको बैठकले निश्कर्ष निकालेको हो ।

त्यसको प्रमाणको रुपमा खनाललाई पार्टीले आधिकारिक उम्मेद्वार बनाएको ३ दिन पछि कांग्रेसबाट प्रमुख पदका दाबेदार भनिएका ७ जनाले खनालबिरुद्ध मोर्चाबन्दी गर्दै विज्ञप्ती निकालेका थिए । विज्ञप्ती निकाल्नेमा प्रमुखका दाबेदार भनिएका टेकनाथ घिमिरे, बलबहादुर आले, नारायणकुमार श्रेष्ठ, बद्रीनाथ बसौला, खेमबहादुर गुरुङ, आनन्द सुबेदी र तिलबहादुर खड्का थिए । उनीहरुले जनभावना बिपरित खनाललाई टिकट दिएको भन्दै विद्रोह गर्ने धम्की दिएका थिए ।

समीक्षा बैठकले खनाललाई हराउन पार्टीका तीन थरिका व्यक्तिको भूमिका रहेको उल्लेख गरेको छ । जस अनुसार एक थरी उक्साउने र संरक्षण गर्ने, अर्कोले विज्ञप्तीबाजी गर्ने र अर्को समूहले बिपक्षी पार्टीसँग साँठगाँठ गरेको निश्कर्ष निकालेको छ । उक्साउने र संरक्षण गर्नेमा पार्टीका जिल्ला सभापति कृष्ण केसी र कास्की क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बिर्जमान गुरुङ रहेको ठहर गरेको छ ।

सो समूहले विज्ञप्ती जारी गरेर निर्वाचनको माहोल बिगारेको, असर पार्ने, आफ्ना कार्यकर्ताको मनोबल खस्काउने गरेको आरोप लगाइएको छ । त्यस्तै, पार्टीका महाधिवेशन प्रतिनिधि खलिद मिया, गेहेन्द्र कोइराला र नवराज ढुंगानाले बिपक्षी पार्टीसँग साँठगाँठ गरेर अन्तर्घात गरेको भन्दै उनीहरुलाई पनि कार्वाहीका लागि सिफारिस गरेको छ । उनीहरुलाई पार्टी बिधान अनुरुप कार्वाही गर्न माग गरिएको छ ।

यसअघि नेपाली कांग्रेस कास्कीका प्रचार विभागका नवीन सिग्देलले चुनावमा नेतृत्वले कमाण्ड सम्हाल्न नसक्दा कास्कीमा पराजय भोगेको भन्दै कास्कीमा पार्टीको सम्पूर्ण संरचना नै भंग गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव पनि जिल्ला सभापति केसीले कार्यान्वयन नगरी पेन्डिङमा राखेर निस्तेज पार्ने प्रयास गरिरहेका छन् । पत्रकार सन्देश श्रेष्ठले खबर लेखेका छन् ।