काठमाडौं – जग्गा खरिद प्रकरणमा व्यवस्थापिका संसदका विभिन्न समितिले दोषी ठहर गर्दै कारबाही सिफारिस गरेका नेपाल आचयल निगमका प्रमुख गोपालबहादुर खड्कालाई बखास्ती प्रस्तावसहितको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ । आफूमाथि कारबाही हुने भएपछि अहिले खड्का चलखेलमा लागेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् ।
प्रदेश २ को निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र ढक्क भएर मतदान गर्न सरकारले गरेको आग्रहलाई पनि आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएर छापेका छन् ।
मलेसियामा नेपाली कामदार ठगिने गरेको विषयलाई पनि पत्रिकाले आज उधिनेको छ । सात प्रदेशको राजधानीको चर्चादेखि सभामुख ओनसरी घर्तीको विदेश भ्रमणसम्मको चर्चाले आजका पत्रपत्रिकाहरु भरिएका छन् ।
गोरखापत्र दैनिकले गणतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाएर छापेको छ । गोरखापत्रमै मतदाता परिचयपत्र वितरण उत्साहजनक रहेको अर्को खबर पनि छ । गोरखापत्रले स्थानीय तहसम्म विपद् व्यवस्थापन संयन्त्रलाई एंकर बनाएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकले दर्जनौं विधेयक अलपत्र छाडेर सभामुख विदेश भ्रमणमा निस्किन लागेको लेखेको छ । आयल निगम जग्गा खरिदमा भएको अनियमिततालाई पनि आज अन्नपूर्णले छापेको छ ।
‘कहाँ–कहाँ तोकिँदै छन् सात प्रदेशको राजधानी ?’ शीर्षक दिएर मुख्य खबर लेखेको नयाँ पत्रिका दैनिकले १० हजार नेपालीसँग ४० अर्बको नक्कली सिक्का रहेको तथ्य सार्वजनिक गरेको छ ।
मलेसियाका चोक–चोकमा रहेका दलालहरुबाट नेपाली कामदार असुरक्षित हुँदै आएको विषयलाई आज कान्तिपुर दैनिकले मुख्य सामग्री बनाएर पहिलो पृष्ठमा लेखेको छ ।
कारबाहीबाट जोगिन नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले चलखेल तीव्र पारेको विषयलाई आज नागरिक दैनिकले छापेको छ । बहिनीलाई जागिर लगाइदिएबापत खड्का जोगाउन माओवादी सांसद् अमनलाल मोदी लागेको दाबी नागरिकले गरेको छ ।