पोखरा – पत्रकार ऋषि खतिवडालाई यस वर्षको युआरएल पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ । पुरस्कारको राशि १५ हजार, ताम्रपत्र र दोसल्ला छ । खतिवडा हेल्थ अपडेट मासिकका प्रधानसम्पादक हुन् भने उनी फेवा टेलिभिजनमा पनि आवद्ध छन् । उनले रेडियो अन्नपूर्णमा १७ वर्षदेखि ‘डक्टरसा”प” सञ्चालन गरिरहेका छन् ।
पोखराको सभागृहचोक, गिरी कम्प्लेक्समा रहेको प्रदेश नं. ४ कै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले गत वर्ष यो पुरस्कार स्थापना गरेको हो । युआरएलको चौथो वार्षिकोत्सव समारोहमा उक्त पुरस्कार प्रदान गरिनेछ । अग्रज पत्रकार वद्रिविनोद प्रतिकको संयोजबक र नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशुकला पराजुली, प्रेस स्वतन्त्रता सेनानी कुशुमकेशव पराजुली र वरिष्ठ चिकित्सक डा. नारायण ओझा सदस्य रहेको प्रतिभा छनोट समितिले खतिवडालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्न पुरस्कार सहयोगी बन्ने अपेक्षा गरे । उनले व्यवसायसँगै सामाजिक उत्तरदायित्व पनि बहन गरी युआरएल यो क्षेत्रको अग्रणी र लोकप्रिय प्रयोगशाला बनेको उल्लेख गरे ।