काठमाडौं – आज मंगलबार काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई समेटेका छन् । अधिकांश दैनिक पत्रिकाहरुले अाज निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको विषयलाई मुख्य खबर बनाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको जम्बो मन्त्रिपरिषद् खर्चिलो भएको विषयमाथि समेत पत्रिकाहरुले लेखेका छन् । पत्रिकाहरुले लेखेका छन् – प्रधानमन्त्री शेरबहादुर देउवाले स्वभाविक रुपमा मन्त्रीको संख्या बढाएर ५४ पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे परेको छ । एक मन्त्री थपिँदा राज्यलाई झन्डै २ करोड भार पर्छ ।
सुन तस्करीमा माओवादी नेता संलग्न भएको अर्को विषयलाई पनि आजका पत्रपत्रिकाहरुले समेटेका छन् । प्रदेश २ को चुनावी चहलपहलदेखि जनप्रतिनिधिलाई गाडी सुविधा दिन लागिएकोसम्मका खबर पत्रपत्रिकामा पढ्न पाइन्छ ।