म निर्वाचनको पक्षमा छैन : राजपा नेता अनिल झा


काठमाडौँ – आफू निर्वाचनको पक्षमा नभएको राष्ट्रिय जनता पार्टीका शीर्ष नेता अनिल झाले स्पष्ट पारेका छन् । उनले भने,‘मैले सुरुदेखि नै निर्वाचनको विरोध गर्दै आएको छु, अहिलेपनि म निर्वाचनको पक्षमा छैन, यद्धपी पार्टीले निर्वाचनमा जाने निर्णय गरेको छ, म त यसबारेमा अल्पमतमा परेको मान्छे हुँ, बहुमत साथीहरुले निर्वाचनमा जानुपर्छ भनेर भन्नुभएकोले पार्टीले निर्वाचनमा जाने निर्णय गरेको हो ।’ झाले चुनाव जानै हुँदैन भनेर आफूले पटक पटक पार्टीभित्र कुरा राखेको उल्लेख गर्दै यो चुनावबाट कति क्षति हुने हो भन्ने कुरा परिणामले देखाउने समेत बताए ।

राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै झाले वर्तमान सरकारलाई दिएको समर्थन एक सेकेण्डपनि ढिलाई नगरी फिर्ता गर्नुपर्ने बताए । उनले भने, ‘बाढी पीडितहरुको लागि राज्यले राहत त वितरण गर्यो, तर यो राहत चुनाव केन्द्रित राहत हो।’ उनले टेन्ट र चामलसँगै भोट माग्नु लज्जास्पद भएको टिप्पणी गरे ।

उनले चुनाव जित्नको लागि तराईमा धमाधम राहत वितरण भैरहेको आफूले प्रत्यक्ष देखेर आएको समेत गुनासो पोखे । उनले थपे,‘लुट्न र मनपरी गर्ने काम भैरहेको छ, त्यसैले यो सरकारलाई समर्थन गरिरहनु अब एक सेकेण्डपनि औचित्य छैन।’

उनले तराईमा अहिले राहत लिनुछ भने रुखमा भोट हाल्नुहोस वा हँसिया हथौडामा भोट हाल्नुहोस् भन्ने काम सरकारमा बस्ने दलहरुले गरिरहेको समेत आरोप लगाए ।

उनले आफूहरुको एजेण्डालाई कांग्रेस र माओवादी केन्द्रले बाढिसँगै बगाउने काम गरेको समेत आरोप लगाए । उनले थपे,‘सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले प्रस्ताव पास गराउन पर्याप्त गृहकार्य नै गरेका थिएनन्, यो प्रस्ताव तुहाउनको लागि ल्याईएको थियो।’

यता, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले २ नम्बर प्रदेशमो चुनावमा पार्टीले परिवर्तनकारी शक्तिहरुसँग तालमेल गर्ने बताए । उनले भने, ‘परिवर्तनकारी शक्तिहरु, संघीयता पक्षधरहरुसँगमात्रै हाम्रो पार्टीले चुनावी तालमेल गर्छ, संघीयताविरोधीहरुसँग हामी तालमेल गर्दैनौं।’

शर्माका अनुसार पार्टीले कांग्रेस, एमाले, राजपा लगायत अन्य दलहरुसँगपनि आवश्यकत्ता र अनुकुलता अनुसार तालमेल गर्ने तयारी गरेको छ। २ नम्बर प्रदेशमा आफ्नो पार्टी पहिलो हुने उनको दाबी थियो । उनले थपे,‘हामी २ नम्बर प्रदेशमा पहिलो हुने भनेर नै लागिरहेका छौं, मधेश र मधेशी जनताको मित्र शक्ति नै हाम्रो पार्टी हो।’

त्यस्तै उनले तराईमा बाढि पीडितहरुलाई राहत वितरण गर्दा बास्तविक पीडितहरुलाई दिनुपर्ने धारणा राखे । उनले भने,‘पीडितहरुलाई राहत दिनुपर्छ, अहिले भोटको लागि वितरण गरिएको भन्ने कुरा जो उठेको छ, त्यस्तो गरिनुहुँदैन्।’