काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिकृयावादीहरुले आफुलाई कमजोर बनाउने प्रयास गरेको भएपनि उनीहरुको प्रयास सफल नहुने बताएका छन् । माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको बुधबार काठमाडौमा उद्घाटन गर्दै आफूलाई कमजोर बनाउन खोज्नेहरुलाई असफल पार्ने दावी गरे ।
उनले भने, ‘मैले शुरुदेखी नै बन्न खोजेको प्रचण्ड हो, बिचमा प्रचण्डबाट च्युत गराउन पनि प्रतिक्रियावादीहरुले खोजे । त्यतिबेला मेरा आफ्नै कमजोरीले पनि केही काम गरे ।’ भावुक मुद्रामा प्रचण्डले भने, ‘अब एक डेढ बर्षभित्र हेर्नुहोला, हाम्रो अर्को मोर्चामा भेट हुन्छ ।’
फरक प्रशंगमा प्रचण्डले मधेस केन्द्रीत दलका हजारौं नेता कार्यकर्ता चाडै माओवादी केन्द्रमा प्रवेश गर्ने शन्देश पनि सुनाए । उनले यसैका बलमा माओवादी दुई नम्बर प्रदेशमा एक नम्बरको शक्ति बन्ने दावी समेत गरे ।
आफुले १० महिनामा २५ बर्षसम्म अरुले गर्न नसकेको काम गरेको भन्दै प्रचण्डले पार्टीमा अहिले विचार र दस्तावेज औपचारिक मात्र भएको स्वीकारे । ‘विचार र कायदिशाको बहस हुदैन, पद प्रतिष्ठाको बहस हुन्छ ।’प्रचण्डको भनाई थियो ।
गणतन्त्र विरोधीले जित्दा संघीयता कमजोर हुने भन्दै उनले अहिले आफुहरु कमजोर भएको र गणतन्त्र विरोधी, धर्मनिरपेक्षता र आफ्नो टाउकोको मूल्य तोक्ने बलिया भएको बताए । प्रचण्डले माओवादीले जितेमात्र राष्ट्रियता बलियो हुने भन्दै समग्रमा मओवादीको जित हुनेगरी काम गर्न विद्यार्थी नेताहरुलाई सुझाव पनि दिएका थिए ।