निर्वाचन दुई चरणमा गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव


काठमाडौं–  निर्वाचन आयोगले भने एकै चरणमा निर्वाचन गर्न नसकिने संकेत गरेको छ । सरकारले मंसिर १० गते एकै चरणमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन आयोगकको यस्तो प्रतिक्रिया आएको हो ।

आयोगले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा गर्न सरकारलाई सुझाव दिएको थियो । तर दुई चरणमा निर्वाचन गर्ने समय नभएको भन्दै सरकारले एकै चरणमा दुवै निर्वाचन गर्ने आइतबार निर्णय गरेको थियो । निर्वाचनको मिति घोषणा गरेकोमा सरकारलाई धन्यवाद दिए पनि आयोगले एकै चरणमा निर्वाचन गर्न हुने जटिलताबारे सरकारलाई स्मरण पत्र बढाउने निर्णय गरेको छ ।

भौगोलिक विविधता र मौसमको अनुकुलता समेतका कारण हिमाली तथा उच्च पहाडी भेगका जिल्लामा २०७४ साल मंसिर ४ गते र बाँकी जिल्लामा मंसिर २१ गते गरी दुई चरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई परामर्श दिइएको आयोगले जनाएको छ । मंसिर १० गते एकै चरणमा निर्वाचन सम्पन्न गर्ने गरी मिति घोषणा भएकोले निर्वाचनको तयारी र व्यवस्थापनमा विविध जटिलता रहने, कथंकदाचित उक्त मितिमा मौसमको अनुकूलता नभएमा अर्को चरणमा समेत निर्वाचन गराउनु पर्ने अवस्था रहन सक्ने भन्दै आयोगले सरकारलाई स्मरण पत्र पठाउने निर्णय गरेको हो ।

यस्तै, तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्बन्धी ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन अनिवार्य हुने भएकोले उक्त कानून एवं क्षेत्र निर्धारण आयोगको प्रतिवेदन शीघ्र आयोगमा उपलब्ध गराइदिने व्यवस्थाको लागि पनि सरकारलाई पुनः अनुरोध गर्ने, आयोगले निर्णय गरेको छ ।