काठमाडौं– आगामी मंसिर ४ गते पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रमुख तीन राजनीतिक दल र निर्वाचन आयोगबीच समझदारी भएको छ ।
प्रमुख तीन दल र निर्वाचन आयोगका पदाधिकारीबीच विहीबार भएको छलफलमा यस्तो सहमति भएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।
आफूहरुले गरेको प्रस्तावअनुसार मंसिर ४ गते हिमाली र उच्च पहाडी क्षेत्रको ३५ जिल्लामा एकै पटक प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने समझारी भएको उनले बताए ।
आयोग पदाधिकारी र प्रमुख तीन दलबीचको छलफलमा आगामी भदौ ५ गतेभित्र निर्वाचनका लागि आवश्यक कानून ल्याइसक्ने र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पनि भदौ १५ भित्र आइसक्ने सरकारले अयोगलाई विश्वास दिलाएको छ ।
पहिलो चरणमा गर्ने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रदेशअनुसार भने नहुने पनि प्रमुख निर्वाचन आयुक्त यादवले स्पष्ट गरे । यसका लागि कानून बाधन नहुने उनले बताए ।