काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेता प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन एकै दिन गर्ने निश्कर्षमा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बोलाएको प्रमुख तीन दलको बैठकमा आगामी मंसिरभित्रै दुवै निर्वाचन एकै पटक गर्ने निश्कर्षमा पुगेका हुन् ।
निर्वाचन आयोगले निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारलाई दबाब दिएपछि प्रधानमन्त्री देउवाले बुधबार प्रमुख तीन दलका शीर्ष नेताको बैठक डाकेका थिए । निर्वाचन आयोगले भने एकै पटक निर्वाचन गर्न कानूनी तथा प्राविधिक जटिलता रहेको बताएका छन् ।
बुधबार मात्रै निर्वाचन आयोगका पदाधिकारीसँग पनि प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । आयोग सदस्यहरुले भदौं १ निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका थिए ।
नेताहरुका अनुसार प्रत्यक्षतर्फ संघीय संसद र प्रदेशसभाका लागि एउटा मतपत्र बनाउन सकिनेछ, जसमा दुई ठाउँमा स्वस्तिक छाप लगाउने व्यवस्था गर्न सकिनेछ । समानुपातिकका लागि संघीय संसद र प्रदेशसभाका लागि एक ठाउँमा मत दिने व्यवस्था गर्न सकिनेछ ।
बिहीबार तीन दलका शीर्ष नेताहरुले निर्वाचन आयोगसँग छलफल गर्नेछन् र सम्भवतः मंसिर १०/११ मा चुनाव हुनेछ ।
संशोधनमाथि ४ गते भोटिङ
बालुवाटारमा बसेको तीन दलको बैठकमा संविधान संशोधन विधेयकलाई अघि बढाउने सहमति पनि जुटेको छ ।
सम्भवत ४ गते संसदमा भोटिङ हुनेछ । स्रोतले भन्यो, ‘आज भोलि नै गरौं भन्ने कुरा पनि आएको छ । तर, सम्भवतः ४ गते भोटिङ हुन्छ ।’
संविधान संशोधन विधेयकमा परेका संशोधनहरु निर्णयार्थ पेश भएपछि संशोधनको मुल विधेयकमाथि मतदान हुनेछ । संशोधन पास हुन दुई तिहाई बहुमत चाहिन्छ, जुन अहिलेसम्म देखिएको छैन ।
यद्यपि राष्ट्रिय जनता पार्टी संशोधन विधेयक पास-फेल जे भएपनि चुनावमा जान तयार देखिएको छ ।
बालुवाटार बैठकमा बाढी प्रभावितहरुको उद्दार तथा राहतलाई प्रभावकारी बनाउनेबारे पनि छलफल भएको छ । सबै एकजुट भएर राहत तथा उद्दारलाई तीव्रता दिन दलहरु सहमत भएका छन् ।