चेतन पाण्डे
नेपाली फुटबललाई माया गर्नेले यसको सफलताको बखान गर्न नपाएको पनि झन्डै दुई दशक बितिसक्यो। यहाँ गणेश थापाले नेपाली फुटबलको कमान सम्हाल्नु केही वर्ष अघि नेपालले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिते यता नेपाली राष्ट्रिय फुटबल टोली उपाधि विमुख छ।
दूर्भाग्य लामो समय नेपाली फुटबललाई खेलाडीका रुपमा हाँक्नु भएका यहाँलाई त्यो प्रतियोगितामा भने टोलीमा समावेस गरिएको थिएन।
खेलाडी जीवनबाट टाढा भएको केही वर्षभित्रै यहाँलाई एन्फा अध्यक्ष बनाइयो। त्यसपछि, जुनसुकै व्यवस्था–सत्ता आएपनि यहाँलाई एन्फाको अध्यक्ष पदबाट कसैले टसका मस गराउन सकेका छैनन्। बरु यहाँसँग जतिले निहुँ खोजे प्रायः सबै हारेर नै फर्के। केही बलिया विरोधिलाई भने यहाँले साम, दाम, दण्ड, भेदले ठिक पार्नु मात्र नभएर आफ्नो अनन्य भक्त नै बनाउनु भएको छ।
पछिल्लो पटक फुटबलमा ससक्त विवाद र विरोध गरेकाहरु मध्ये अधिकांश नै आज यहाँका नजिकका प्रिय पात्र बन्नु त्यसको उदाहरण हो।
यहाँको विरोध गर्नु मेरो कुनै इच्छा होइन। तर, नेपाली फुटबल अहिले आफूले भोगिरहेको दशाबाट मुक्त होस् भन्ने चाहना भने पक्कै छ। थापा ज्यु, यहाँ फुटबलको अध्यक्ष भएको झन्डै दुई दशकमा नेपालले कुनै अन्तर्राष्ट्रिय उपाधि जित्न सकेन नै, नेपालको असफलताको पछाडि दूर्भाग्य मात्र त अवश्य छैन होला। नेपालको फुटबल संरचनामा नै कमी छ भन्ने पनि बु्झ्नु पर्ने दिन आयो जस्तो लाग्यो। हो, खेलाडीहरु भने आर्थिक रुपमा केही सक्षम बन्ने दिन आएको छ। तर, खेलाडी मात्रै सम्पन्न बन्दैमा खेलको विकास भयो भन्ने मान्यता पनि सहि होइन।
हुनत क्लबहरु हरेक दिन कमजोर बन्दैछन्, गरिब बन्दैछन्, ऋणमा डुब्दैछन्। तर, एन्फाको कमान सम्हाल्नु भएका यहाँ र केही आसेपासे दिन प्रतिदिन झनै धनाढ्य बन्दैहुन्छ। यहाँको कार्यकालमा विदेशबाट आएको आर्थिक सहयोगको कुनै हिसाब किताब राखिएको छैन। यहाँको नीजि लेखापाल बाहेक कसैलाई विदेशी सहयोग बारे सही जानकारी छैन।
एएफसीका पूर्व अध्यक्ष मोहम्मद बीन हमाम आर्थिक अनियमिताको चक्रव्युहमा फँसेकै कारण यहाँको आर्थिक चलखेलका पनि खुलासा भएका हुन्, अझै हुन्छ होला। यहाँले सार्वजनिक रुपमै एन्फाको ८ करोड रुपैयाँ आफूले लुकाएर राखेको बताइ सक्नु भएको छ।
लाखौं समर्थक र खेलाडीको आशा बोकेको एन्फाको रकम आफू खुशी प्रयोग गर्ने अधिकार यहाँलाई कुनै कानूनले दिंदैन। यहाँले राख्नु भएको ८ करोड त साँवा होला, त्यसको ब्याज बारे त यहाँले कतै चर्चा समेत गर्नु भएको छैन।
यहीँ उदाहरण कै कारण एन्फाका अन्य हर हिसाबलाई पनि आफू खूशी चलाउनु भएको छैन भन्न मिल्ने अवस्था रहेन। यहाँ अध्यक्ष हुनु भएपछि यो २० वर्षमा आएका विदेशी सहयोग, प्रयोजन रकम तथा टिकट बिक्रीबाट कति रकम उठ्यो होला, त्यसको हिसाब किताब कसैसँग छैन। हुनत यहाँले नै स्वीकारि सक्नु भयो भयो, विदेशमा व्यापार व्यवसाय सुरु गर्नु भएको छ भन्ने। संसदको लेखा समितिले मात्र पाँच वर्षको हिसाब किताब मागेर यहाँलाई ठूलै राहत दिएको छ भन्ने मेरो बुझाइ छ। बाँकी १५ वर्षको हिसाब किताब देखाउने झन्झटबाट अब यहाँ मुक्त हुनु भएको छ, बधाइ छ।
जस्तो जुकै अवस्थामा पनि शक्ति केन्द्र रिझाउन सक्ने यहाँको क्षमताको म पनि प्रसंसक हुँ। अहिले पनि ति शक्ति केन्द्रलाई रिझाएर सकुसल सेफ ल्यान्डिङ गर्नु भयो भने पनि कुनै अचम्म मान्नु पर्दैन। ज्यान दिएर राजा फाल्नेले समेत यहाँको प्रसंसा गर्छन्। अहिले करोडौंको अनियमितताको दावी हुँदा समेत यहाँलाई प्रश्न गर्ने आँट कमैले गरेका छन्। यसमा यहाँको व्यक्तित्वकै प्रभाव मान्नै पर्छ।
हमामले दिएका लाखौं डलर व्यापारको नाफा भनेर यहाँले लिइसक्नु भयो, भनिसक्नु भयो। विदेशमा यहाँको केको व्यापार छ र कसरी त्यो व्यपार सुरु गर्नु भयो अनि लगानी कसरी भयो भन्ने खुलासा पनि गर्नु भए राम्रो हुन्थ्यो। यहाँले सार्वजनिक रुपमै आफूले कुनै आर्थिक हिनामिना नगरेको तथा त्यस्तो प्रमाणित भएको खण्डमा फाँसी व्यहोर्नेसम्मको दावी गरिसक्नु भएको छ। आफ्ना आसेपासेलाई कपाली कमसुक गर्न लगाएर हिसाब किताब मिलाउँदै हुनुहन्छ भन्ने पनि सुन्नमा आएकै छ।
वास्तवमा एन्फालाई एकलौटी रुपमा मात्र चलाउनु यहाँलाई हनुमानहरुबाट पनि ठूलै सहयोग र समर्थन प्राप्त छ। यहाँलाई ति हनुमानहरुबाट यतिसम्म हनुमानगिरी प्राप्त छ जसलाई, देख्दा स्वयं पवनपुत्र समेत लाजले शिर निहुराउँछन् होला। यहाँका हनुमानहरु यहाँको स्वार्थमा जे जस्तो काजगमा सही गर्न अनि गर्न र बोल्न तयार छन्। यहाँका हनुमानका लागि यहाँ उदाहरणीय राम बन्नु भएको छ। तर, त्यही राम र हनुमानको पात्र प्रवृत्तिले नेपाली फुटबललाई दूर्दशामा धकेलेको छ।
राष्ट्रिय टोलीका खेलाडीहरुको स्वदेशी वा विदेशी भूमिमा खुट्टा चल्न छाडेको छ। राष्ट्रियस्तरका प्रतियोगिताहरु आवश्यकता अनुरुपका छैनन्। क्लबहरु यहाँको विरोधमा उत्रिन थालिसकेका छन्। अनावश्यक रुपमा घरेलु फुटबल खर्चिलो बन्दैछ। यहाँ कै पदाधिकारीहरु खुलेर यहाँको विरोधमा उत्रिन थालिसकेका छन्। विरोधिहरुलाई पाखा लगाएर अघि बढ्ने यहाँको योजनामा तत्कालमा छेकेवार लागेको छ। अहिले नभएपनि भविष्यमा सबै यथार्थ बाहिर आउँछ नै। खेलाडीका रुपमा नेपाली फुटबललाई यहाँले धेरै दिनु भएको छ। आर्थिक अनियमिताका आरोपहरु प्रमाणित भएको खण्डमा यहाँको उज्यालो विगतलाई समेत अन्ध्यारोमा डुबाउने पक्का छ। कृपया आफूसँगै नेपाली फुटबललाई समेत डुबाउने काम यहाँबाट हुँदैन होला भन्ने कामना गर्दछु।
वास्तवमा नेपाली फुटबललाई यहाँले तासको महल जस्तो बनाउनु भएको छ। कुनै दिन त्यो ढल्यो भने नेपाली फुटबललाई माया गर्नेहरुले दिक्दारी बाहेक केही पाउने छैनन्। अहिले यहाँको सहज बहिर्गमन नै नेपाली फुटबलका लागि सही मार्ग हुनसक्छ तर, यहाँको कार्यकालमा भएका अनियमिताको पर्दाफास समेत हुनु पर्छ नै। यसका लागि समबन्धित निकायले ध्यान दिन थालेका छन् तथा यहाँको प्रभावमा नपरेर समबन्धित निकायले त्यसलाई निरन्तरता दिने छ भन्ने फुटबल प्रेमीको विश्वास पनि छ।
पशुपति नाथले गरुन्, यहाँको कार्यकालमा यति बिघ्न आर्थिक अनियमिता भएको नहोस् जसले, नेपाली फुटबललाई नै अन्धकारमा नडुबाओस्। फुटबल नडुबोस्, नमरोस्। धन्यवाद।