पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नै सडकमा ओर्लिएपछि ….


काठमाण्डौ – जति बेला सुशीला कार्की प्रधानन्यायाधीश थिइन्, उनका प्रशंसक धेरै थिए । उनको निर्भीक चरित्रको प्रशंसा गर्नेमध्ये एक थिए, कानुनविद् विपिन अधिकारी । न्याय क्षेत्रभित्रै अर्को कोणबाट उनीमाथि ‘अरू कसैको प्रभाव’मा काम गर्ने गरेको आरोप लाग्ने गथ्र्यो । तर, अधिकारी त्यसको प्रतिवाद गर्दै कार्कीले न्यायालयको गरिमा र स्वाभिमान बढाएको तर्क गर्थे ।

पूर्वप्रधानन्यायाधीशको हैसियतमा रहेकी कार्की शनिबार डा. गोविन्द केसीको अनशनप्रति समर्थन जनाउँदै सडकमा ओर्लिएपछि कानुनविद् अधिकारीको मत फेरिएको छ । प्रधानन्यायाधीश हुँदा ‘निर्भीक न्यायमूर्ति’का रूपमा स्थापित कार्कीको छवि अवकाशपछि ‘विवाद’मा तानिँदै गएको छ । विभिन्न सञ्चारमाध्यमलाई शृंखलाबद्ध अन्तर्वार्ता दिन थालेपछि धेरैले ‘मर्यादा बिर्सेको’ भनेर टिप्पणी गरे ।

शनिबार सडकमै उत्रिएर भाषण नै गरेपछि कानुन क्षेत्रका विज्ञहरूले आलोचना गरेका छन् । ‘प्रधानन्यायाधीश भइसकेको मान्छे । अवकाशपछि पनि आचारसंहिताविपरीत जानु हुन्न’, कानुनविद् अधिकारीले भने, ‘केसीका माग जायज छन् । तर, त्यसमा प्रधानन्यायाधीश भइसकेको व्यक्तित्व सडकमै आएर बोल्नु हुन्नथ्यो । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

कार्कीसँगको अन्तवार्ता समेत आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रधानन्यायाधीशबाट केही समयअघि मात्रै अवकाश लिनुभएको तपाईंले सडकमै उत्रेर भाषण गर्दा ‘एक्टिभिज्म’ भयो भनेर टिप्पणी भएको छ, के भन्नुहुन्छ ?
के आपत्ति भयो र ? यस्तो अभ्यास अन्यत्र पनि छ । भारतमै पनि लोक अदालत भनेर पूर्वन्यायमूर्तिहरू सक्रिय हुन्छन् । मविरुद्ध नै केही अघि संसद्मा महाभियोग प्रस्ताव दर्ता हुँदा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलगायत सडकमै आउनुभएको होइन ? अहिले के नौलो भयो र ?

मैले राजनीति गरेको होइन । विकृति-विसंगतिका विरुद्धमा ऐक्यबद्धता जनाएको मात्रै हुँ ।

तपाईं अब राजनीतिक रूपमा सक्रिय बन्नु हुन्छ ?
अहिले चिकित्सा क्षेत्रको विसंगतिविरुद्ध बोलेको हुँ । भोलि भ्रष्टाचारविरोधी आन्दोलन भए त्यसमा पनि बोल्छु । पूर्वप्रधानन्यायाधीश भन्दैमा किन नबोल्ने ? अब म सामाजिक रूपमा सक्रिय रहन्छु ।