इजरायलबाट बाबाको सन्देश


सुरेन्द्र प्रसाईँ

सहरभन्दा अलि बाहिरपट्टि वरिपरि ससाना पहाडले घेरिएको एथेन्स विमानस्थल काठमाण्डुको झझल्को दिने खालको थियो। टापुटापुको देश ग्रिसबाट इजरायल फर्कँदा इजरायली एयरलाइन्स एलालको जहाज निर्धारित समयभन्दा पनि चार घण्टा ढिलो उड्यो। मसँगैका इजरायलीलाई सामान्य केरकार मात्र गरेर छाडेकी गोरीले मेरो नेपाली पासपोर्ट देख्नासाथ प्रश्नहरुको वर्षा गरी र अन्त्यमा यात्रु र मेरै सुरक्षा अनि हाल इजरायलको अवस्थाले मलाई यति धेरै केरकार र चेकजाँच गर्नु परेकोमा क्षमा माग्न भने बिर्सिन। ठीक त्यसै बेला अमेरिकाले विश्वभरिका अझ खास गरी युरोपका विमानस्थलहरुमा सतर्कता अपनाउनू भन्ने खुफिया रिपोर्टले गर्दा पनि हुन सक्छ, ती सुरक्षा अधिकारीले मेरो उछित्तो काढेकी।

प्रतिक्षालयमा पुगेपछि भने केही राहत महसुस भो। अघिल्लो दिनहरुमा ग्रिसका टापुहरुको दर्शनले गर्दा अनलाइन बस्न पाको थिइनँ। त्यहाँ वाइफाइ रहेछ। हतारहतार फेसबुक, भाइबर र स्काइप एकैपल्ट खोलेँ। सन्देशहरुको बाढी नै आएको रहेछ। सानी छोरीले असार ३२ को जन्मदिनको स्मरण गराएकी र युरोपबाट आउँदा कलर पेन्सिल ल्याइदिनू भनेकी। दोजिया पत्नीले आराम रहेको र आफ्नो ख्याल गर्ने प्रेम उद्द्गार पठाएकी।
इजरायलमा रहेका मित्रहरुबाट भने प्रायले अब युरोपमै बस्नू, इजरायल नफर्कनू भनेका, युद्ध चलिराखेकोले सल्लाह र सुझाव पठाएका। हरेकजसो नेपाली मित्रहरुको फेसबुक पेज इजरायल र हमासको युद्ध साइरनको चर्को आवाज र अन्यौलले भरिएका।
मलाई ती पोस्टहरु हेर्दा भीषण युद्ध भइरहेको बम र बारुद पन्छाउँदै जानुपर्ने जस्तो महसुस भयो। दुई दिनदेखि समाचार हेर्न र सुन्न पाएको थिइनँ। हतारहतार अनलाइन बिबिसी र सिएनएन सर्च गरेँ। बिबिसीमा बिना पैसा युद्ध हेरिरहेका इजरायलीहरु भनेर एउटा रोचक समाचार थियो। कोक, खाजा र सोफामा खुल्ला चौरमा बसेर युद्ध हेरिरहेका तस्बिरसहितको समाचारमा इजरायलमा सब सामान्य देखाउँथ्यो भने सिएनएनमा इजरायलको भन्दा पनि गाजाको विभत्स चित्रका साथै हमासले अस्वीकार गरेको युद्धबिरामको समाचार थियो। इजरायली प्रधान मन्त्री नेतन्याहूद्वारा इजरायली नागरिकलाई आश्वत गरेको र गाजामा अझ तेज हमला गर्ने चेतावनी थियो।
सात बजे उड्नु पर्ने हाम्रो विमान राति ११ बजे उड्यो। अनि क्याप्टेनले सुरुमै इजरायलको हालको अवस्थाले गर्दा विमान बस्न नसक्ने पनि हुनसक्छ भनेर सचेत गराए।
अधिकांश इजरायलीहरु सवार विमानमा सब सामान्य थियो। मैले मेरो छेउका सिटमा बसेका साथीलाई सुटुक्क सोधेँ- “अब के हुन्छ ??”
“केही हुन्न सब सामान्य हुन्छ हिजो जस्तै,” उनले निस्फिक्रीका साथ भने, “एक जना इजरायली या इजरायलभित्रका कोही मर्नु भनेको पनि रणनीतिक रुपमा पेलेष्टाइनहरुको जित हो त्यसैले तिमी निश्चित हौ, तिम्रो सुरक्षा गर्न इजरायल सक्षम छ।’ उसको बोली आत्मविश्वाशले भरिएको र दृढ थियो।
बेनगुरिएन अन्तर्राष्ट्रिय बिमानस्थल तेल अभिबमा बिहान १ बजे विमान उत्रँदा सब सामान्य थियो। राति पनि दिन जस्तै जग्मगाउने इजरायलले उसरी नै जग्मगाएर हामीलाई स्वागत गर्योन। विमानस्थल र बाहिरपट्टिको चहल पहल उस्तै सामान्य थियो।
हामीलाई लिन आएकी इत्फातले कारको रेडियो अन गरिन्- २ बजेको समाचार आइरहेको थियो। ९ बजे र १२ बजे राति हमासद्वारा प्रहार गरिएका १२ वटा रकेटलाई आकाशमै रकेट निरोधी अस्त्र आइरन डोमले निष्क्रिय पारेको र कहिँ केही क्षति नभएको समाचार आयो। अनि मात्र थाहा भयो- हाम्रो विमान ढिलो हुनको कारण।
भोलिपल्ट बिहान एउटा सामान्य बिहानजस्तै आयो, अँ एकदुईपल्ट साइरनको चर्को आवाज भने अवश्य गुन्जियो। दिउँसो लन्चमा त्यसरी नै साइरन बज्यो। न हल्ला छ, न भागदौड ,चलिराखेका सवारी साधन जहाँका त्यहीँ रोकेर सवारहरु छेउका घरमा ओत लागे। सडक छेउमा हिँडिरहेकाहरु यसो कुनातिर लुके। बिल्कुल शान्त एकदम अनुशासित पाराले।
म कफे ग्रेकको बाल्कोनीमा बसेर खुल्ला आकाशमा रकेटलाई आइरन डमले कसरी निष्क्रिय पार्छ भनेर हेर्न लालायीत थिएँ। जेबले मेरो पाखुरा समातेर भित्र तान्यो। अर्को एक मिनेटमा सब सामान्य भैसकेको थियो।
लन्चबाट घर फर्केर फेसबुक हेर्दै गर्दा देशको प्रतिष्ठित एउटा दैनिकले नेपाली कामदारहरु इजरायल मा तनावमा भनेर यहाँ काम गर्ने भनिएका केही महिलालाई उद्धृत गर्दै समाचार छापेको रहेछ।
अधिकांश नेपालीहरुको डराएर प्रतिक्रिया पठाए।
हामी यहाँ सुरक्षित छौ। यस्ता निराधार र उत्तेजना फैलाउने समाचारले देशमा रहेका परिवार, आफन्त र शुभचिन्तहरुलाई तनाव हुन्छ। इजरायलभित्र सबै सामान्य छ।
मैले पनि मेरो नवजात छोरो र छोरीलाई जन्म दिनको शुभकामना पठाउँदै फेसबुकमा स्टाटस लेखेँ, ” मलगायत इजरायल मा काम गर्ने सबै नेपाली नेपालमा भन्दा सुरक्षित छौँ। दुवैलाई जन्मदिनको शुभकामना। चाँडै तिमीहरुलाई भेट्न आउँछु।”
-तिमीहरुको पापा।