बार्सिलोना/ युरोपको लोकप्रिय अनलाईन पत्रिका नेपालीनेपाली डटकमको तेस्रो बार्षिकोत्सव समारोह आउँन अब २ हप्ता मात्र बाँकी रहेको छ।आगामी जुलाई २८ तारिख जर्मनीको फ्रयाङ्कफर्टमा आयोजना हुने बिशेष कार्यक्रम निकै नजिकिएको हो। “सबै नेपालीहरुको खबरले” परिचित अनलाईन पत्रिकाले कार्यक्रम तयारीको अन्तिम चरणमा पुगेको जनाएको छ।
पहिलो चरणमा:- नेपाली भाषा र संस्कृति
नेपालीनेपाली डटकमले कार्यक्रमलाई दुई चरणमा बिभाजन गरेको जनाएको छ। पहिलो चरणमा ‘हाम्रो भाषा र संस्कृति, पहिचानको आधार स्तम्भ’ भन्दै युरोपभर नेपाली भाषा सिकाउन भएका प्रयासबारे विशेष भिडियो रिपोर्ट प्रस्तुत गरिदै छ।
डेनमार्क,स्पेन,जर्मनी,नेदरल्याण्डस् र बेल्जियममा बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन भएका प्रयासलाई समेटेर भिडियो रिपोर्ट तयार भईसकेको प्रधानसम्पादक बसन्त रानाभाटले जानकारी दिए।
दोस्रो चरण :-युरोपमा नेपाली पत्रकारिताको सम्भावना र चुनौती
दोस्रो चरणमा युरोपमा नेपाली पत्रकारिताको सम्भावना र चुनौती विषयमा मिडियाले प्यानल छलफल गर्दै छ। छलफल कार्यक्रममा नेपाल र प्रबासमा रही सक्रिय रुपमा कलम चलाईरहेका पत्रकारहरुले सहभागिता जनाउने भएका छन्।
युरोपमा नेपाली पत्रकारिताको बर्तमान अबस्था,भविष्य,सम्भावना र चुनौतीलाई केन्द्रित गर्दै नेपाली समुदाय साँझ हुने छलफलले सार्थकता पाउने बिश्वास मिडियाले राखेको छ।
बीबीसीका बाताबरण संबाददातालाई सम्मान
बीबीसी विश्वसेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खडका बिशेष समारोह बीच सम्मानित हुने भएका छन्। दुई दशक देखि वातावरण र जलवायु परिवर्तनबाट हिमाली क्षेत्रको जनजीविकामा परिरहेको प्रभावका सम्बन्धमा पत्रकारिताको माध्यमबाट विश्वब्यापी जागरुकता सृजना गर्न पुर्याएको योगदानको कदरग र्दै मिडियाले खडकालाई सम्मान गर्न लागेको हो।
बीबीसी विश्वसेवामा उनका रिपोर्टहरु बीबीसी टेलिभिजन, अनलाइन र रेडियो प्रकाशित/प्रसारित हुने गरेका छन्। खड्काले यसअघि काठमाडौं र लण्डनमा बीबीसी नेपाली सेवाको प्रड्युसरको रुपमा काम गरेका थिए।
गत बीस वर्षदेखि संयुक्त राष्ट्र संघका सबै वातावरणीय विश्व संमेलनहरुमा पुगेर उनले रिपोर्ट गरिसकेका छन्। खडकाले आठ वर्षसम्म काठमाडौंका सबैजसो प्रमुख अँग्रेजी अखबारहरु र रेडियो सगरमाथा लगायतका मिडियामा काम गरेका थिए। दक्षिण एसियासम्बन्धी दुईवटा पुस्तकहरुमा उनका लेख प्रकाशित भएका छन्।
गत बर्ष नेपालीनेपाली डटकमले बीबीसी नेपाली सेवाका पुर्व प्रमुख खगेन्द्र नेपालीलाई बिशेष सम्मान प्रदान गरेको थियो।
युरोप बर्ष व्यक्तित्वको घोषणा
नेपालीनेपाली डटकमले हरेक बर्ष प्रदान गर्दै आएको युरोप बर्ष व्यक्तित्व सम्मान यस बर्ष पनि घोषणा गर्ने भएको छ। युरोपको नेपाली समुदायमा रही सामाजिक रुपमा काम गर्दै आएका एक जनालाई “युरोप बर्ष व्यक्तित्व” को नाममा मिडियाले सम्मान गर्दै आएको छ।
गत बर्ष देखि सुरु भएको युरोप स्तरीय कार्यक्रममा बेलायत निबासी कुल आचार्यले युरोप बर्ष व्यक्तित्वको सम्मान पाएका थिए भने पहिलो बर्षको कार्यक्रममा स्पेनका एकराज गिरी सम्मानित भए।
राजदूतले कार्यक्रम उद्घघाटन गर्दै,एनआरएन अभियन्ताहरु बाक्लो उपस्थिति
नेपालीनेपाली डटकमको तेस्रो बार्षिकोत्सव समारोहलाई जर्मनीका लागि नेपाली महामहिम राजदूत रमेश प्रसाद खनालले उद्घघाटन गर्ने भएका छन्। उद्घघाटन समारोहमा गैर आबासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने,संघका संस्थापक अभियन्ता तथा अवैतानिक बाणिज्य दूत रामप्रताप थापा,केन्द्रिय उपाध्यक्ष कुमार पन्त,महासचिव डा.बद्री केसी सहभागी बन्ने निश्चित भईसकेको छ।
यस्तै संघका सचिव अर्जुन कुमार श्रेष्ठ,महिला संयोजक सपीला राजभण्डारी,युवा उप संयोजक लोकराज शर्मा,संघका प्रबक्ता रन्जु थापा वाग्ले,युरोप संयोजक कुल आचार्य लगायतका अभियन्ताहरुले पनि सहभागिता जनाउने पक्का भएको छ।
मिडियाले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो,बर्तमान अध्यक्ष डा. शेष घले,उपाध्यक्ष भवन भट्टलाई पनि निमन्त्रणा पठाएको छ। एनआरएनको युरोपेली बैठकको अघिल्लो दिन कार्यक्रम भएको हुँदा महतो,घले र भट्ट पनि सहभागी बन्ने सम्भावना रहेता पनि निश्चित भईसकेको छैन।
यस्तै मिडियाले जर्मनीमा रहेका सबै संघ संस्थाहरुलाई समेत कार्यक्रममा निमन्त्रणा गर्दै पत्राचार गरेको छ।एनआरएनको दशौ युरोपेली बैठक हुने होटल नजिकै, कार्यक्रमको आयोजना गरेको हुँदा बैठकमा पुग्ने सबै पाहुनाहरुलाई समेत खुल्ला रुपमा कार्यक्रममा सहभागि बन्न नेपालीनेपाली डटकम अनुरोध गर्दछ।