काठमाडौं – निर्वाचनको मतगणना भइरहेको स्थानमा अब निर्वाचनको काममा खटिएका कर्मचारीबाहेक राजनीतिक दलका तर्फबाट उम्मेदवारको एक मात्र प्रतिनिधिले प्रवेश पाउने भएका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा उम्मेदवार वा निजले तोकेको एक जना प्रतिनिधि मात्र मतगणना स्थानमा जान पाउने व्यवस्था प्रस्ताव गरेपछि यो अवस्था आएको हो ।
यसअघि निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा एकभन्दा बढी जनप्रतिनिधि जान पाउने व्यवस्था थियो । तर, संख्या तोकिएको थिएन ।
मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधिकै कारण पहिलो चरणको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना सेलाउन नपाउँदै सरकारले संसद्मा दर्ता गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा यस्तो व्यवस्था गरिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।