पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामराज लामिछानेले तालिममा सिकेका कुरा व्यवहारमा नल्याउने हो भने आफुले यस्ता कार्यक्रम बन्द गर्ने चेतावनी दिएका छन्।
उनले विगतमा कार्यक्रमको लागि कार्यक्रम गर्ने परिपाटी रहेको भन्दै अब जनप्रतिनिधिहरु वडामा आए पछि जनतालाई जवाफ दिनुपर्ने भएकोले तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्ने वताएका हुन्।
उनले पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ वडा स्तरिय महिला समन्वय समितिको आयोजनामा १० दिने चुरामा क्रिष्टल भर्ने तालिमको समापन कार्यक्रममा बोल्दै यदि तालिम नपुगेको भए भन्नुस् थप तालिम दिन वडा तयार छ तर तालिम लिएर जनताको कर खेर नफाल्न अनुरोध गरेका हुन्।
उनले अब वडामा हस्तकलाबाट उत्पादित सामान विक्रिको कुनै समस्या नहुने वताउँदै मिनि मार्केटहरुमा कुरा गरेको र संचालकहरु सकरात्मक रहेको वताएका थिए।
तालिममा वडा भित्रका २४ जना महिलाहरुको सहभागिता रहेको थियो । उनिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
तालिममा प्रशिक्षक द्धय सिता भुषाल र एलिषा रोक्काले सहजिकरण गरेका थिए । तालिममा चुरा लगाएत टप, औंठी, सारी पिन लगाएतमा क्रिष्टल र पोते उन्न सिकाईएको थियो।
सो अवसरमा वडा सचिव लोकदर्शन कोईराला, शिक्षासेवी डा. दिलबहादुर क्षेत्री, नगर स्तरिय टोल विकास समन्वय समितिका प्रथम उपाध्यक्ष उत्तम जोशी, वडा सदस्य राममाया मानन्धर, प्रशिक्षक सिता भुषाल, वडा नागरिक मञ्चकी अध्यक्ष सरु श्रेष्ठ, सामाजिक परिचालक भावना श्रेष्ठ, टोल विकास संस्थाका तर्फबाट लेखुराम खती, सहभागीको तर्फबाट लक्ष्मी पहारी, तमुधिं नेपालकी सदस्य हरिमाया गुरुङले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रशिक्षकहरुलाई प्रशंसा पत्र र अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।
वडा स्तरिय महिला समन्वय समितिकी अध्यक्ष दिलमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मी गिरीले र संचालन सचिव विमला रानाभाटले गरेकी थिईन।