लुम्बिनी अञ्चलका ६ जिल्लाका ३४६ मतदान स्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशिल


पोखरा – असार १४ गते दोस्रो चरणमा स्थानीय तहको निर्वाचन हुन लागेको प्रदेश नम्बर ५ अन्तर्गत लुम्बिनी अञ्चलका ६ जिल्लाका ३४६ मतदान स्थल सुरक्षाको दृष्टिले अतिसंवेदनशिल रहेका छन् ।

लुम्बिनी अञ्चलका ६ जिल्लाको कुल ९१० मतदान स्थल मध्ये सुरक्षा संवेदनशिलताको आधारमा ३४६ अतिसंवेदनशिल, २४५ संवेदनशिल र ३९१ सामान्य रहेको क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रबक्ता एबं प्रहरी उपरिक्षक बसन्त बहादुर कुँवरले जानकारी दिए । आइतवार पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार लुम्बिनी अञ्चलमा कुल ८७७ मतदान स्थल छन् ।

मतदान स्थलको संवेदनशिलताको आधारमा एउटा मतदान स्थलमा ७ देखि २३ जना सम्म प्रहरी र म्यादी प्रहरी परिचालित हुने पश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । लुम्बिनी अञ्चलको निर्वाचन सुरक्षाका लागि ७ हजार २८० प्रहरी र ७ हजार ८७५ म्यादी प्रहरी परिचालन गरिएको छ ।

कुल १४ लाख २ हजार ५७१ मतदाता रहेको लुम्बिनीका ६१ स्थानीय तहमा १३ हजार २४२ उम्मेदवार प्रतिश्पर्धामा छन् । पश्चिम क्षेत्र अन्तर्गत प्रदेश नम्बर ५ को लुम्बिनी अञ्चलका ६ जिल्लामा १ उपमहानगरपालिका, २१ नगरपालिका र ३९ गाउँपालिका छन् ।

निर्वाचन तालिका अनुसार यो अञ्चलका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका मध्ये १४९ जनाले मनोनयन फिर्ता लिएको र नवलपरासीमा ४ जना सदस्य पदका उम्मेदवार निर्विरोध भैसकेका छन् । यो अञ्चलको ६१ स्थानीय तहमा कुल २ हजार ९२२ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

असार १४ गते हुने मतदानको लागि सबै मतदान स्थलमा मतदान सामाग्री पुगिसकेको र प्रहरी युनिट खटिसकेको प्रहरी उपरिक्षक कुँवरले बताए । प्रदेश नम्बर ५ का ६ जिल्लाको सुरक्षाको लागि क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा क्षेत्रीय सुरक्षा प्रमुखहरु रहने गरी कमाण्ड युनिट खडा गरिएको छ । विशेष परिस्थितिको लागि क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट ३५ जनाको टोली पाल्पामा वेश रहनेगरी खटाइसकिएको समेत प्रहरी उपरिक्षक कुँवरले जानकारी दिए ।

लुम्बिनी अञ्चलमा निर्वाचन विरोधी गतिविधि गर्ने ८६ जना राजपाका कार्यकर्ता पक्राउ गरिएकोमा १४ जनामाथि मुद्धा चलाइएको र ७२ जनालाई जमानीमा छाडिएको समेत क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ । साथै निर्वाचन सुरक्षामा प्रभाव पार्ने गतिविधिमा संलग्न नेकपा माओबादी बिप्लव समुहका १५ कार्यकर्ता पक्राउ गरिएकोमा १० जनालाई तारेखमा छाडिएको र ३ जनामाथि थप अनुसन्धानका लागि म्याद थप गरी दुई जनालाई छाडिएको छ ।

सुरक्षा ब्यवस्थालाई मजवुद बनाउने गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग तीन वटै सुरक्षा निकायको विचमा समन्वय गरी योजना तयार पारिएको समेत जनाइएको छ । साथै भारतसँग सिमा जोडिएका जिल्लाका सुरक्षा अधिकारीले भारतीय सिमा सुरक्षा अधिकारीसँग समन्वयात्मक छलफल गरी सिमा बन्द गर्ने सहमति भएको छ । निर्वाचन सुरक्षाको संवेदनशिलतालाई मध्येनजर गरी भारतसँग सिमा जोडिएका जिल्लाको सिमा नाका ४८ घण्टा पहिले बन्द गर्ने समेत निर्णय भएको छ ।