सन्देश श्रेष्ठ पोखरा । पोखराको लेकसाइडको एक लजमा फ्रान्सेली पर्यटक झुण्डिएको अवस्थामा फेला परेका छन् । पोखरा लेखनाथ महानगरपालिका-६ लेकसाइडको खहरे स्थित नमस्ते लजमा फ्रान्सेली नागरिक ३० वर्षीय फ्रान्सोक इन्सिक क्रिस्टियन झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
सोमबारदेखि लजमा बसेका उनी बिहीबारसम्म बाहिर देखिएका थिए । शुक्रबारदेखि कोठाबाट बाहिर ननिस्किएका उनलाई त्यसपछि नदेखिएको लजका कर्मचारीले बताएका छन् । शनिबार भने क्रिष्टियन बसेको कोठाबाट दुर्गन्ध आउन थालेपछि होटलका कर्मचारी कोठामा हेर्न गएका थिए ।
भित्रबाट चुक्कुल नलगाइएकाले सजिलै भित्र पसेका लजका कर्मचारीले क्रिष्टियनलाई कोठामा झुण्डिरहेको अबस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
आफू बसेको कोठाको झ्यालमा रहेको फलामे डन्डीमा पासो लगाएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यद्यपि थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।
कम बोल्ने र पेन्टिङ गर्ने क्रिष्टियन खाना पनि कोठाभित्रै पकाएर खाने गरेकाले दुई दिनसम्म होटलका कर्मचारीले पनि खोजतलास नगरेको बताएका छन् ।