पोखरामा अायोजना हुने असारे रोपाई महोत्सवमा ५ सय विदेशी पर्यटक सहभागी हुने


पोखरा – पोखरामा असारे रोपाई महोत्सव आयोजना हुने भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा १३ वर्षदेखि रोपाई महोत्सव हुदै आएको छ । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्धेश्यले पोखरा पर्यटन परिषद्ले असार १५ गते १४ औ महोत्सव गर्न लागेको जानकारी दिएको छ ।

‘पोखरा सबै मौषमका लागी ’ भन्ने उद्घोष सहित विगत १३ बर्षदेखि सञ्चालित असारे रोपाई महोत्सबले पोखरामा कृषी पर्यटन प्रबद्र्धन सहित बर्खायाममा पनि पर्यटक आगमनको दर बढाएको छ । हिलोमा एक पटक टेक्नै पर्ने दिनको रुपमा चिनिने नेपाली पर्व असारे १५ मा आयोजना हुने रोपाई महोत्सबमा पर्यटकको सहभागीता पनि बढ्दै गएको छ ।

महोत्सबको दिन विदेशी पर्यटकलाई लक्षित गरी हिलोमै विभिन्न प्रतियोगिता सञ्चालन गरिन्छ । जसमा उनीहरु नेपाली माटोमा लतपतिदै रमाउछन् । यो बर्ष पोखरा १६ स्थित ठुलीवेसी फाटमा हुने १४ औं संस्करणको महोत्सबमा ५ सय भन्दा बढी विदेशी सहित झण्डै ३० हजार मानिस उपस्थित हुने अपेक्षा गरिएको छ ।

आयोजक पोखरा पर्यटन परिषद्ले स्थानीय गोविन्द बहादुर खड्काको झण्डै ८ रोपनी खेतमा रोपाई महोत्सब गर्न लागेको हो । महोत्सब स्वदेशी तथा विदेशीहरुको माझ लोकप्रिय हुदै गएकाले विगतको अनुभवका आधारमा यो बर्ष २५ देखि ३० हजार मानिस उपस्थित हुने र ती मध्ये झण्डै ५ सय विदेशी पर्यटक रहने संयोजक नवराज अधिकारीले बताए ।

महोत्सबमा साउने प्रतियोगिता, आमा समुहविच असारे गीत तथा रोपाई प्रतियोगिता, हिलोमा माछा समात्ने खुल्ला प्रतियोगिता, नेपाली महिला पुरुष र विदेशी महिला पुरुषको लागि छुट्टा छुट्टै दौड प्रतियोगिता, नेपाली र विदेशीविच रस्साकस्सी प्रतियोगिता, पत्रकारको हिले दौड लगायतका प्रतियोगितात्मक कार्यक्रम सहित कृषक सम्मान र विविध सास्कृतिक कार्यक्रम समेत समावेश गरिने परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।

आईतवार पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार साउने प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमश ः ३, २ , १ हजार र पाँच सय नगद पुरस्कार प्रदान गरिनेछ । रोपाई तथा गीत प्रतियोगितामा पहिलो हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ र सान्त्वना हुनेलाई एक हजार रुपैया नगद पुरस्कार प्रदान गरिनेछ ।

महोत्सब सम्पन्न गर्न १४ लाख ५० हजार रुपैया खर्च अनुमान गरिएको छ । महोत्सबलाई नेपाल पर्यटन बोर्ड, पोखरा लेखनाथ महानगरपालिका, कृषी विकास कार्यालय, पोखरा उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाले साथ दिएका छन् ।

महोत्सब सम्पन्न गर्न १९ सदस्यीय मुल आयोजक समिति र १८ वटा विभिन्न उपसमिति समेत गठन गरिएको छ । परिषद्का अध्यक्ष केदार शर्माले पोखरा आसपासको क्षेत्रमा खेतीयोग्य जमिन मासिदै गएकोमा चिन्ता ब्यक्त गर्दै खेती योग्य जमिनको संरक्षण, कृषीलाई ब्यवसायीकरण गर्नुपर्ने खाचो औल्याए ।