काठमाडौं – परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइईको नतिजाअनुसार अनिवार्य नेपाली विषयको नतिजा सबैभन्दा खस्किएको पाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
४ लाख ४५ हजार ६ सय ६४ विद्यार्थीले परिक्षा दिएकोमा अनिवार्य विषय ६ वटामध्ये ए प्लस ल्याउने सबैभन्दा कम नेपालीमा छन् ।
नेपालीमा १ सय ८१ जनाले मात्रै ए प्लस अर्थात ९० भन्दा बढी अंक ल्याएका छन् ।
अंग्रेजीमा ९ हजार ४ सय १० जना, गणितमा २८ हजार १३, विज्ञानमा ७ हजार ५ सय ४४ जनाले ए प्लस ल्याएका छन् ।
नेपालीपछि समाजिक कमजोर देखिएको छ । सामाजिकमा ३ सय ९७ जनाले मात्रै ए प्लस ल्याएका छन् । यो विषयमा डी र ई ल्याउने १ लाख ६ हजार छन् ।
खस्कियो एसईई परिणाम
एसईई परीक्षा दिएकामध्ये एक लाखभन्दा बढी विद्यार्थीको भर्ना मापदण्ड पूरा नहुने पाइएको छ । विज्ञान, मानविकी, शिक्षा, कानुन संकायको जुनसुकै विषय पढ्न पनि अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार अनिवार्य सामाजिकमा त्यसभन्दा तल डी र ई ल्याउने १ लाख ६ हजार ४ सय ६४ विद्यार्थी छन् । अंग्रेजीमा डी र ई ल्याउने ६५ हजार ७० र नेपाली विषयमा ६५ हजार छन् ।
सामाजिक विषयलाई मात्रै आधार मान्ने हो भने परीक्षा दिएका ४ लाख ४५ हजार ५ सय ६४ विद्यार्थीमध्ये ३ लाख ३९ हजार एक सय जना मात्रै कक्षा ११ मा भर्ना हुन योग्य हुनेछन् । यसमा १.६ भन्दा कम जीपीए ल्याउने ६९ हजार, बीचैमा परीक्षा छाडेका र परीक्षा रद्द गरिएका विद्यार्थी जोडिएको छैन । गतवर्ष ४ लाख ३७ हजार विद्यार्थीले परीक्षा दिएकामा १ लाख १२ हजारले सामाजिकमा डीभन्दा कम ग्रेड ल्याएका थिए । गतवर्ष परीक्षा दिएकामध्ये ३ लाख ४८ हजार अर्थात ८० प्रतिशत विद्यार्थी मात्रै कक्षा ११ मा भर्ना भएका छन् । यसमा ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्नुअघि श्रेणीका आधारमा पास गरेका विद्यार्थी पनि भर्ना भएका छन् । गतवर्ष भर्ना भएको संख्यालाई आधार मान्ने हो भने यसवर्ष ३ लाख ५० हजार हाराहारी मात्रै ११ कक्षामा भर्ना हुन योग्य हुनेछन् ।
भर्ना मापदण्डअनुसार विज्ञान समूह अध्ययन गर्न न्यूनतम २ जीपीए, व्यवस्थापन, मानविकी र शिक्षा अध्ययन गर्न न्यूनतम १.६ जीपीए ल्याउनुपर्ने हुन्छ । जीपीए १.६ भन्दा बढी ल्याए पनि विषयगत रूपमा निश्चित ग्रेड ल्याउनुपर्ने हुन्छ । सबै समूहमा सामाजिक, अंग्रेजी, नेपालीमा अनिवार्य डी प्लस ल्याउनुपर्ने हुन्छ । विज्ञान समूह अध्ययन गर्न न्यूनतम २ जीपीए, विज्ञान र सामाजिकमा सी प्लस, अंग्रेजी, नेपाली, सामाजिकमा डी प्लस ल्याउनैपर्ने हुन्छ । त्यस्तै व्यवस्थापन, मानविकी र शिक्षाको जुनसुकै विषय पढ्न पनि अंग्रेजी र सामाजिकमा डी प्लस ल्याउनुपर्ने हुन्छ । कक्षा ११ मा अंग्रेजी र नेपाली अनिवार्य हुन्छ । त्यसबाहेक तीन सय पूर्णांकको ऐच्छिक विषय पढ्नुपर्ने हुन्छ । तीन सय पूर्णांकको विषय छनोट गर्दा निश्चित विषय पढ्न तोकिएकै ग्रेड ल्याउनुपर्ने हुन्छ । व्यवस्थापनतर्फको विषय पढ्न विज्ञान र गणितमा डी प्लस ल्याउनैपर्ने हुन्छ ।
गत चैतमा भएको परीक्षामा ४ लाख ४५ हजार ५ सय ६४ जनाले परीक्षा दिएकामा १२ हजार २ सय ८४ जनाले ३.६५ देखि ३.६० जीपीए ल्याएका छन् । यो गतवर्षभन्दा १.०१ प्रतिशत कम हो । गतवर्षभन्दा यसपालि परीक्षा दिने विद्यार्थी संख्या ८ हजार २ सय ३८ जना बढी छन् । यसको आधारमा यो समूहमा पर्ने विद्यार्थीको संख्या बढ्नुपर्नेमा झन् घटेको छ । यसलाई आधार मान्ने हो भने मुलुककै शैक्षिक गुणस्तर गतवर्षको भन्दा खस्किएको पुष्टि हुन्छ । यसबाहेक अन्य समूहमा भने गतवर्षको भन्दा सुधार भएको छ । ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ९.५० प्रतिशत रहेकोमा यसपालि ९.५२ पुगेको छ । त्यस्तै २.८५ देखि ३.२० जीपीए ल्याउने विद्यार्थी गतवर्ष ११.११ प्रतिशत रहेकोमा यसपालि १३.९० प्रतिशत पुगेको छ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार यसवर्ष ३.२५ देखि ३.६० सम्म जीपीए ल्याउने विद्यार्थी ४२ हजार ४ सय २७ जना छन् । त्यस्तै २.८५ देखि ३.२० जीपीए ल्याउने विद्यार्थी ५० हजार ६ सय ४६ जना छन् । २.४५ देखि २.८० ल्याउने ६१ हजार ९ सय ५५ छन् । २.०५ देखि २.४० जीपीए ल्याउने ९१ हजार ३ सय १४ छन् । १.२५ देखि १.६० सम्म सबैभन्दा बढी १ लाख ८ हजार ४ सय ६४ जना छन् ।
६ नम्बर प्रदेश सबैभन्दा कमजोर
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा प्रदेश नम्बर ६ को शैक्षिक गुणस्तर सबैभन्दा कमजोर देखिएको छ । ३३ हजार १ सय ९४ विद्यार्थी सहभागी भएको ६ नम्बर प्रदेशमा २.८५ देखि ४ जीपीए ल्याउने विद्यार्थी ७.१५ प्रतिशत छन् । तीमध्ये ३.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९० (०.२७ प्रतिशत) जना मात्रै छन् । जबकि अन्य प्रदेशमा २.८५ देखि ४ जीपीए ल्याउने विद्यार्थी प्रतिशत ४० सम्म छ । यो प्रदेशमा रुकुम, सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, हुम्ला, कालिकोट, मुगु र जुम्ला पर्छ ।
नतिजाअनुसार ७ नम्बर प्रदेशको गुणस्तर पनि कमजोर देखिएको छ । ४९ हजार ३ सय २८ जनाले परीक्षा दिएकामा २.८५ देखि ४ जीपीए ल्याउनेको प्रतिशत ६ नम्बर प्रदेशको भन्दा २.२६ मात्रै बढी छ । २ नम्बरमा ६ र ७ को तुलनामा राम्रो देखिएको छ । २ नम्बर प्रदेशमा २.८५ देखि ४ जीपीए ल्याउने विद्यार्थी १६.३३ प्रतिशत छन् । ४९ हजार ३ सय २८ विद्यार्थीले परीक्षा दिएकामा ३.६५ देखि ४ जीपीए ल्याउने ३ सय ३६ जना (१.२२ प्रतिशत) छ । यो प्रतिशत प्रदेश नम्बर १, ३ र ४ को भन्दा कमजोर हो । प्रदेश नम्बर ६ र ७ मा न्यून ग्रेड भने धेरै विद्यार्थीले ल्याएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार जीपीए २.८५ देखि ४ सम्म ल्याउने विद्यार्थी र त्यही प्रदेशबाट परीक्षा दिएका विद्यार्थीका आधारमा राजधानी काठमाडौं रहेको ३ नम्बर प्रदेशको गुणस्तर सबैभन्दा राम्रो देखिएको छ । परीक्षामा अन्य प्रदेशभन्दा बढी १ लाख ५ हजार १८ विद्यार्थी सहभागी भएकामा ६ हजार ९ सय ७५ जना अर्थात ६.६४ प्रतिशत विद्यार्थीले ३.६५ देखि ४ जीपीए ल्याएका छन् । २.८५ भन्दा बढी जीपीए ल्याउने विद्यार्थी संख्या ४०.५९ प्रतिशत छ ।
चार नम्बर प्रदेशको सिकाइ उपलब्धिमा तीन नम्बरको भन्दा कमजोर भए पनि अन्य प्रदेशको भन्दा राम्रो पाइएको छ । ४ नम्बर प्रदेशबाट ४७ हजार ८ सय विद्यार्थीले परीक्षा दिएकामा एक हजार ५ सय ७५ जनाले मात्रै ३.६ भन्दा माथि जीपीए ल्याएका छन् । ३.२५ देखि ३.६० जीपीए ल्याउने ५ हजार २ सय २८ छन् । यसअनुसार २.८५ देखि ४ सम्म जीपीए ल्याउने २८.९३ प्रतिशत छन् । प्रदेश नम्बर ५ मा सिकाइ उपलब्धि १, २, ६ र ७ भन्दा राम्रो छ । २.८५ भन्दा बढी जीपीए ल्याउने ५ नम्बर प्रदेशमा १९.४९ प्रतिशत छन् ।
उच्च ग्रेडमा छात्र, न्यूनमा छात्रा अघि
एसईईमा नियमिततर्फ २ हजार २ सय छात्रा बढी थिए । नतिजा भने ठीक उल्टो छ । जीपीए उच्च ल्याउनेमा छात्र अगाडि छन् । न्यून जीपीए ल्याउनेमा छात्रा बढी छन् । ३.६५ देखि ४ जीपीए ल्याउने १२ हजार २ सय ८४ (२.७५ प्रतिशत) विद्यार्थीमध्ये छात्र ७ हजार ३४ र छात्रा ५ हजार २ सय ५० जना छन् ।
जीपीए ३.३५ देखि ३.६० सम्म ल्याउने ४२ हजार ४ सय २७ विद्यार्थीमध्ये २४ हजार ९ सय ११ छात्र छन् भने १७ हजार ५ सय १६ मात्रै छात्रा । २.८५ देखि ३.२० जीपीएमा पनि यस्तै छ । यो समूहमा ५० हजार ६ सय ४६ जनामध्ये छात्र २९ हजार र छात्रा २१ हजार छन् । तर, न्यून ल्याउनमा छात्रभन्दा छात्रा बढी छन् । २.०५ देखि २.४० जीपीए ल्याउने ९१ हजार ३ सय १४ विद्यार्थीमध्ये छात्रा ४६ हजार ८ सय २१ र छात्र ४४ हजार ४ सय ९३ छन् । न्यून ग्रेड ०.८५ देखि १.२० सम्म पनि छात्रा नै बढी छन् ।
प्रदेशका आधारमा ६ नम्बरमै छात्रा कमजोर देखिएका छन् । ६ नम्बर प्रदेशबाट ३३ हजार १ सय ९४ विद्यार्थीले परीक्षा दिएकोमा १७ हजार १ सय छात्रा थिए । ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको विश्लेषण गर्दा यो प्रदेशबाट ६ सय ७२ जना छन् । यसमध्ये छात्राको संख्या २ सय १९ जना मात्रै छन् । ७ नम्बर प्रदेशमा २.८५ जीपीएदेखि ४ सम्म ल्याउने छात्राको संख्या ५.०१ र ७ मा ५.६५ प्रतिशत छ । यो तथ्यांक एउटा प्रदेशबाट परीक्षामा सहभागी भएर २.८५ देखि ४ जीपीए ल्याउने विद्यार्थी र त्यही प्रदेशबाट परीक्षा दिएका कुल छात्रालाई भाग गरेर निकालिएको हो ।
प्रदेश नम्बर १ मा ३९ हजार १ सय ७९ छात्राले परीक्षा दिएकामा २.८५ देखि ४ जीपीए ल्याउने १७.९५ प्रतिशत छन् । २ नम्बर प्रदेशमा २९ हजार ८५ मध्ये १३.३४, ३ नम्बरमा ५१ हजार ८ सय ७८ छात्रामध्ये ३६.१५, ४ नम्बर प्रदेशमा २४ हजार १ सय ६३ मध्ये २५.४४, ५ नम्बरमा १५.६४ प्रतिशत मात्रै छन् । प्रदेश नम्बर २ र ३ बाहेक अन्यत्र परीक्षा दिने छात्रा बढी छन् । हरेक प्रदेशबाट २.८५ देखि ४ जीपीए ल्याउने छात्राको संख्या र त्यही प्रदेशबाट परीक्षा दिने छात्राको विश्लेषण गर्दा ६ र ७ सबैभन्दा कमजोर देखिएको हो ।
पूरै परीक्षा नदिने पनि छात्रा बढी
परीक्षामा सबै विषयको परीक्षा नदिनेमा पनि छात्रको तुलनामा छात्रा बढी रहेको पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७ हजार ६ सय ४ जनाले सबै विषयको परीक्षा नदिएको पाइएको हो । जसमध्ये ३ हजार ६ सय ३५ जना छात्र र ३ हजार ९ सय ६९ जना छात्राले बीचैमा परीक्षा छाडेका छन् । ‘एक/दुई दिन परीक्षा दिएका बीचैमा छाड्नले अर्को वर्ष दिन पाउँछन्,’ नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भने । ड्रप आउट हुनेको संख्या गतवर्षको तुलनामा यसवर्ष बढेको छ । गतवर्ष ६ हजार ८ सय ७८ जना विद्यार्थीले बीचैमा परीक्षा छाडेमा यसवर्ष ७ हजार ६ सय ४ पुगेको छ ।