पोखरा उद्योग वाणिज्य संघ तथा ब्रिटिस काउन्सिलका प्रतिनिधीबीच अन्तरक्रिया


पोखरा – प्राविधिक शिक्षा तथा व्यवसायिक तालीमहरु निजी क्षेत्रको आवश्यकता अनुसार निर्देशित हुनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । पोखरा उद्योग वाणिज्य संघ तथा ब्रिटिस काउन्सिलका प्रतिनिधीहरुबीच  भएको अन्तरक्रियामा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

युरोपियन युनियनअन्तर्गत ब्रिटिस काउन्सिलबाट संचालनमा आउन लागेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम, सार्वजनिक निजी साझेदारी परियोजना ( टिभिइटी, पिपी) कार्यक्रमको सम्भावित क्षेत्र पहिचानबारे सो अवसरमा चर्चा भएको थियो । कार्यक्रमको विषयबस्तुबारे चर्चा गर्दै टिभिइटी, पिपी कार्यक्रमका टोली प्रमुख सिएन कर्लीले प्राविधिक तथा व्यवसायिक तालीम निजी क्षेत्र वा रोजगारदाताको आवश्यकता अनुसार तयार हुनु पर्नेमा जोड दिनुभयो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम तथा व्यावसायिक तालीम परिषद ( सिटिइभिटी)ले मात्र अहिले यस्ता तालीम दिँदै आएको चर्चा गर्दै उहाँले ती तालीमहरु भित्तामा प्रमाणपत्र झुड्याउने काममा मात्र प्रयोग हुँदै गएकोमा चिन्ता जाहेर गर्नुभयो । ‘सिटिइभिटीले आफ्नोतर्फबाट सक्दो गरेको छ तर त्यहाँ बजारको आवश्यकता अनुसारको तालीम उपलब्ध छैन’, उहाँले भन्नुभयो,‘ अबका तालीमहरु रोजगारदाताको आवश्यकता अनुसारको हुनैपर्छ । यसको लागि त्यही अनुरुपको पाठ्यक्रम बनाउनुपर्छ ।’

युरोपियन युनियनको सहयोगमा संचालित हुने परियोजना अन्तर्गत निजी क्षेत्रको सहभागिता चाहेको प्रष्ट पार्दै उहाँले पोखरा उद्योग वाणिज्य संघसँग यो क्षेत्रको आवश्यकता पहिचान गरी सो अनुरुपको तालीम प्रदान गर्न तयार रहेको बताउनुभयो । अहिलेसम्म दाताहरुले आफू अनुकुलका क्षेत्रमा मात्र अनुदान दिँदै आएकोमा यो परियोजनाले बजारको आवश्यकतालाई ध्यान दिई कार्यक्रम संचालन गर्ने उहाँको भनाई थियो । नेपालमा तालीम प्राप्त जनशक्तिको अन्तर्राष्ट्रिय मापडण्ड अनुसार बर्गिकरण हुन नसक्दा समस्या भएको उहाँको भनाई थियो । कृषि, निर्माण, पर्यटनको क्षेत्रलाई प्राथमिकतामा राखिएको परियोजनाले समुदायमा आधारित रहेर काम गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले बजारमा दक्ष जनशक्तिको अभाव भएको बेला युरोपियन युनियनको प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । पोखरा औद्योगिक क्षेत्रमा संचालित उद्योगहरुको उदाहरण दिँदै उहाँले दक्ष जनशक्तिको अभावमा उद्योग तथा सेवा क्षेत्रले झण्डै सिटिइभिटीकै काम गरेको जिकिर गर्नुभयो । ‘हामीकहाँ काम सिक्न वा विदेश जाने सर्टिफिकेट बनाउन आउनेलाई काममा लगाउनु पर्ने बाध्यता छ , दक्ष जनशक्ति उत्पादनको लागि बजारले चाहेको क्षेत्रमा तालीम हुनैपर्छ ।’–उहाँले भन्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव दामुु अधिकारीले श्रम बजारमा कार्यरत कामदारको स्तरोन्नति नहुँदा उनीहरुबाट सोचेजस्तो उपलब्धी हाँसिल हुन नसकेको जानकारी दिनुभयो । अटो क्षेत्रमा काम गर्ने मिस्त्रीहरुको उदाहरण दिँदै उहाँले भन्नुभयो–‘उनीहरुले हिजो जे सिके त्यही कुरा अहिले नयाँ प्रविधी जडित यन्त्रहरुका प्रयोग गर्दा त्यसले गुणस्तरीयता दिन सकेको छैन ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष पवनकुमार प्रजापतिसमेत उपस्थित कार्यक्रममा कार्यसमिति सदस्यहरु अनिल सिग्देल,देवकृष्ण काफ्ले,प्रेमबहादुर भुजेल, गीता तिवारी,डिवी भुजेल,प्रकाशदेव पालिखे,चन्द्रकिशोर गौतमलगायले अहिले बजारमा देखिएको समस्या, त्यसको निराकरण तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम, सार्वजनिक निजी साझेदारी परियोजना ( टिभिइटी, पिपी) कार्यक्रमकाबारे विभिन्न जिज्ञासाहरु राख्नु भएको थियो ।