मनिपाल घटनाका आन्दोलनरत पक्षलाई वार्तामा बोलाइयो


पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले घटनाको छानविन गर्न कमिटी गठन गरेर आन्दोलनरत पक्षलाई वार्तामा बोलाएपछि मनिपाल शिक्षण अस्पतालमा जारी आन्दोलन शुक्रबार बिहान १० बजेसम्मका लागि स्थगन भएको छ । सुत्केरी गराउन अस्पतालमा भर्ना भएको सुत्केरी र बच्चा दुवैको ज्यान गएपछि पोखराको मनिपाल शिक्षण अस्पताल बुधबार बिहानैदेखि तनावग्रस्त बनेको थियो । बुधबार दिनभर शान्तिपूर्ण आन्दोलन गरेका घटनाका पीडित पक्षले बिहीबार दिउसो १ बजेदेखि अस्पतालको मूल गेटमा ताला लगाएर आन्दोलन गरेका थिए । जसका कारण अस्पतालका सेवाग्राहीले सास्ती भोग्नुपर्‍यो भने अस्पतालको काम समेत प्रभावित भएको थियो ।

जिल्ला प्रशासन कार्यालयले घटनाको छानविन गर्न कमिटी गठन गरि आन्दोलनरत पक्षलाई शुक्रबार बिहान १० बजे वार्तामा बोलाएपछि धादिङ–पोखरा सम्पर्क समाजको समन्वयमा शुक्रबार बिहान १० बजेसम्मका लागि आन्दोलन स्थगन गरि गेटमा लगाइएको ताला खोलिएको हो । छानविन समितिको संयोजकमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सिनियर गाइनोक्लोजिष्ट डा. डेला सिं शर्मा रहेकी छन् भने उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला र जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्रतिनिधिको रुपमा सम्झना दुंगाना सदस्य रहेका छन् । समितिलाई ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

यसैबीच धादिङ समाजको बिहीबार सम्पन्न आकस्मिक कार्यसमितिको बैठकले जिल्ला प्रशासन कार्यालयले गठन गरेको छानविन कमिटीको रिपोर्ट आउने बेलासम्म धैर्य गर्ने र उक्त रिपोर्टको अवस्था हेरी अघि बढ्न निर्णय गरेको हो । बैठक समाजका कार्यबहाक अध्यक्ष सुदर्शन बसौलाको अध्यक्षता मा भएको थियो ।

यसैबीच पोखरा महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष मोहनप्रसाद बाँस्तोला र फूलवारी क्लवका अध्यक्ष हरिषचन्द्र बाँस्तोला अस्पताल पुगेर घटनाका पीडित पक्ष र अस्पताल प्रशासन संग घटनाको बारेमा बुझेका छन् । वडाध्यक्ष बाँस्तोलाले घटनाको समस्या समाधानका लागि आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् ।

मंगलबार सुत्केरी गराउन मनिपाल शिक्षण अस्पतालमा भर्ना भएकी धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ घर भई हाल पोखरा नयाँबजार बस्ने ३६ वर्षीया शान्ता पाण्डे भण्डारी र बच्चाको मृत्यु भएपछि तनाव तनाव उत्पन्न भएको थियो । मृतक भण्डारीका आफन्तले अस्पतालको लापर्वाहीका कारण सुत्केरी र बच्चा दुवैको ज्यान गएको दावी गर्दै आन्दोलन गरेका थिए ।

घटनापछि धादिङ–पोखरा सम्पर्क समाज, वडा प्रहरी कार्यालय बगरको समन्वयमा बुधबार बिहान अस्पताल प्रशासन, पीडित पक्षबीच वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन । वार्तामा पीडित पक्षले उचित क्षतिपूर्ति दिनुपर्ने, मृतक भण्डारीकी ७ वर्षीया छोरीको उचित लालन–पालन, शिक्षादीक्षा, उमेर पुगेपछि रोजगारको सुनिश्चितता गर्नुपर्ने र उपचारमा संलग्न चिकित्सकलाई कार्वाही गर्नुपर्ने माग राखेका थिए । तर अस्पताल प्रशासनले यस विषयमा केही गर्न नसक्ने र छानविन समिति गठन गरेर त्यसै समितिले दिएको सुझाव अनुसार अघि बढ्ने बताएपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो। पीडित पक्षले घटनाको सत्यतथ्य छानविन गरि दोषीमाथि कार्वाही र पीडित पक्षलाई क्षतिपूर्तिको माग गर्दै बुधबार नै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी समक्ष उजुरी दिएका थिए ।