कतारसँग कुटनीतिक सम्बन्ध विच्छेदको असर नेपालमापनि


काठमाडौं – चितवनका राम गुरुङ साउदी अरब र कतारको सीमा आवु साम्रामा सोमबार रोकिए । कुवेत–साउदी–कतारमा लरी ट्रक चलाउने उनी कतारमा सामान छोठेर पुन कुवेत फर्किने सीमामा पुगेका थिए । तर सधैंजसो उनले त्यो सीमा पार गर्न पाएनन् ।

त्यसरी फर्किने उनी एक्ला थिएनन् । कतारमै कम्पनी भएकाहरु आफ्ना क्याम्प फर्के । साउदी, कुवेत, यूएई र बहराइनबाट आउनेहरु बोर्डरछेउ गाडी रोकेर बसेका छन् । उनले भने, ‘उता चार मुलुकबाट सामान लिएर आएका साथीहरु पनि साउदीतर्फको बोर्डरमा अड्किएका छन् ।’

आतंकबादलाई सघाएको भन्दै छिमेकी मूलुकले कतारसँगको सम्बन्ध विच्छेद गरेपछि त्यहाँ स्थिति झनै खराब त हुने होइन भन्नेमा नेपाली कामदार चिन्तित छन् ।

‘हाम्रो रोजगारीको भविष्य र दैनिक जिवन के हुन्छ ?’ उनले भने, ‘हामी त अन्यौलमा छौं ।’कतारमा झण्डै चार लाख नेपाली विभिन्न सेवामा कार्यरत छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

कतारले आंतकवादलाई प्रोत्साहन दिएको आरोप

 साउदी अरब, बहराइन, संयुक्त अरब इमिरेट्स, इजिप्ट र यमनले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेद गरेको सोमबार विहान घोषणा गरेका छन् । कतारले आंतकवादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै यी देशहरुले कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गरेका हुन् । युएईले कतारी कुटनीतिकलाई ४८ घण्टाभित्र आफ्नो देश छोड्न अनुरोध गरेको छ । 

ती देशहरुले कतारसँग जल, स्थल र हवाई सम्बन्धसमेत रद्द गरेका छन् । यस घोषणासँगै ती देशका विमान कम्पनीहरुले कतार उडान रद्द गरेको जानकारी गराएका छन् । साउदीको सरकारी सञ्चार माध्यम साउदी प्रेस एजेन्सीका अनुसार साउदीले कतारसँगको सीमासमेत सिल गरिसकेको जनाएको छ । कतारको र साउदीसँग मात्रै स्थलसीमा जोडिएको छ ।

कतारले यमनमा जारी युद्धबाट आफ्नो सेना झिकेर ‘अरबीक समूह’बाट पन्छिएको आरोप साउदीले लगाएको छ । साउदीले कतारलाई क्षेत्रीय र आपसी मतभेद बढाउने गतिविधि गरेको तथा आतंकवादी समूहलाई आर्थिक सहयोग गरेको आरोप लगाएको छ ।

कतार सरकारबाट सञ्चालित सञ्चारमाध्यमले यमनको युद्धमा साउदी नेतृत्वको संयुक्त सैनिक कारवाहीलाई कमजोर पार्ने कोसिस गरेको समेत जनाएको छ । युएईको सरकारी सञ्चारमाध्यमका अनुसार कतारले अरब क्षेत्रको छिमेकमा अस्थिरता निम्त्याउने समूहलाई सहयोग गरेको आरोप लगाएको छ । 

साउदीले कतारी नागरिकलाई १४ दिनभित्र आफ्नो देश छोड्न आदेश दिएको छ । उसले कतारी नागरीकलाई ट्रान्जिटको लागि समेत प्रवेश गर्न रोकेको छ । साउदीले आफ्ना नागरीकलाई १४ दिनभित्र कतारमा नबस्न र यात्रा नगर्न पनि आदेश दिएको छ ।

नेपाली कामदार तत्काल आत्तिहाल्नु पर्ने अवस्था छैन 


खाडी क्षेत्रमा विकसीत क्षेत्रिय कुटनीतिक घटनाक्रमबाट वैदेशिक रोजगारीमा गएका नेपाली कामदार तत्काल आत्तिहाल्नु पर्ने अवस्था नरहेको कतारका लागि पूर्व नेपाली राजदूतले बताएका छन् ।
   
साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, इजिप्ट, यमन र माल्दिभ्सले कतारसँग कुटनीति सम्बन्ध विच्छेद गरेको घोषणापछि कतारमा कार्यरत नेपाली कामदार आगमि दिनको विषयमा अन्योलमा छन् । कतारवाट साउदीलाई ट्रान्जिट बनाएर गाडी चलाउने चालकको काम भने रोकिएको छ ।    

‘यो नितान्त कुटनीतिक सम्बन्ध हो । कतार पूर्ण रुपमा साउदी र युएईमा निर्भर छैन । कुटनीतिक सम्बन्धमा तलमाथि हुने वित्तिकै तुरुन्तै कामदारको रोजगारमा असर पर्दैन,’ कतारका लागि नेपाली पूर्व राजदूत सुर्यनाथ मिश्रले कान्तिपुरलाई भने, ‘नेपालीले अहिले तुरुन्तै बदलिएको कुटनीतिक सम्बन्धलाई लिएर चिन्ता नजनाउदा हुन्छ ।’ 

विकसित घटनाक्रमले कतारी नागरिक र विदेशीको सामान्य जीवनमा कुनै असर नगर्ने कतार सरकारको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । कतारी समाज र अर्थतन्त्रलाई प्रभावित हुन नदिन कतार सरकारले आवश्यक सबै उपाय अपनाउने पनि विज्ञप्तीमा उल्लेख छ । 

कतारमा आप्रवासीसहित झन्डै २३ लाख जनसंख्या छ । जसमा ४ लाख नेपाली कामदार छन् । ती नेपाली मध्ये झन्डै ६० प्रतिशत कामदार निर्माणधिन कम्पनीसँग प्रत्यक्ष जोडिएका छन् । ‘साउदीले स्थल सीमा पनि बन्द गरेपछि निर्माण क्षेत्र, खाद्यान्य लगायत क्षेत्रमा असर गर्छ कि भन्ने धेरैले चिन्ता गरेका होलान्,’ मिश्रले भने, ‘कतारले प्रमुख खाद्यान्य भने भारत, पाकिस्तान र बंगलादेशबाट आपूर्ति गर्ने गरेको अवस्था छ ।’  

युएईले कुटीनितिक सम्बन्ध बिच्छेद गरेको घोषणा गरेपनि कतारसँग जोडिएको समुन्द्रको बाटो प्रयोग गर्न दिने कि नदिने भन्ने बारे मौन छ । खाद्यान्यदेखि कतारलाई चाहिने आवश्यक सामग्री त्यही बाटो हँुदै आउने गरेको छ । ‘साउदी र कतारबीच पहिलादेखि नै चिसो सम्बन्ध थियो । क्षेत्रीयस्तरमा दुवैले आ–आफ्नो पहुँच विस्तार गर्न चाहिरहेको हो । यो खालको सम्बन्ध धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन,’ पूर्व राजदूत मिश्रले भने ।

दुई वर्षअघि अघि पनि साउदी, युएई, बहराइन कतारबाट राजदूतलाई फिर्ता बोलाएको थियो । त्यसको केही महिनापछि फेरी राजदूतलाई पठाएको थियो । यसपटक भने साउदी अरबले कतारी अधिकारीबाट आतंकवादलाई प्रोत्साहन मिल्ने गरी गतिविधि र आर्थिक सहयोग लगायत आरोप लगाई कुटनीतिक सम्बन्ध तोडेको साउदी प्रेस एजेन्सीले जनाएको छ । कतारले ती देशले लगाएको आरोप आधारहिन भन्दै कुटनीतिक सम्बन्ध तोड्ने कार्य तथ्यपरक नभएको जनाएको छ ।