५ अर्ब रुपैयाँ खर्च गरेर ‘धुर्मुस-सुन्तलीद्वारा नमुना नेपाल बनाउँने घोषणा (भिडियो सहित)


‘धुर्मुस-सुन्तली फाउन्डेशन’ले ५ अर्ब बजेटमा तयार हुने गरी ‘नमुना नेपाल’ बनाउने घोषणा गरेको छ।  काठमाण्डौमा आयोजित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले ५ अर्ब बजेटमा तयार हुने ‘नमुना नेपाल’को अवधारणा अगाडि सारेका हुन् ।

‘नमुना नेपाल’ भित्र वुद्धको जन्मस्थान लुम्बिनीदेखि हिमाल, मोनो रेले, गुब्बा, स्तुपा, खेल मैदान, विद्यालय, संग्राहलय सबै हुनेछ ।

हिमाल, पहाड र तराइलाई एउटै स्थानमा चित्रित गर्दै बन्ने यो ‘नमुना नेपाल’ निर्माणमा सहयोग गर्न सितारामले सबैसँग आग्रह गरे । उनले भने-‘हामीलाई जग्गा उपलब्ध भएकै दिन शिलन्यास गर्नेछौ ।

शिलन्यास गरेकै दिन कुन मितिमा निर्माण सम्पन्न हुनेछ भनेर पनि घोषणा गर्नेछौ ।’ ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ भन्ने मुल नारा लिएर यो प्रोजेक्ट निर्माणको अवधारणा अगाडि सारिएको हो ।

उनले सरकारको साथको अपेक्षा गर्दै भने-‘हामीलाई पूर्ण आशा छ, सरकारबाट पनि यो प्रोजेक्ट निर्माणमा साथ मिल्नेछ । यदि, मिलेन भने पनि हामी यो प्रोजेक्ट बनाएरै छाड्छौ ।’

सितारामले यो प्रोजेक्टले नेपालमा रहेको विभिन्न खालको विभेदको अन्त्य गर्ने समेत दाबी गरे । उनले भने-‘हरेक नेपालीले २ सयका दरले सहयोग गर्नुभयो भने पनि ६ अर्ब उठ्नेछ । विदेशमा रहने नेपालीले २ हजारका दरले सहयोग गर्नुभयो भने पनि ८ अर्ब बढी रकम उठ्नेछ । हामीलाई विश्वास छ, सबैको सहयोग हामीले पाउँनेछौ ।’

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ‘धुर्मुस-सुन्तली’ फाउन्डेशनकी सदस्य कुञ्जना घिमिरेले भनिन्-‘यो मैले केही बर्ष अगाडि देखेको सपना हो । अहिले, यो सपना साकार हुँदै गएको महशुश गरेकी छु ।’उनले आफ्नी सानी छोरीले पनि नेपाल आमाको सेवा गरुन् भन्ने चाहना व्यक्त गरेकी थिइन् ।